कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको १५ शय्या दोदोधरा आधारभूत अस्पतालको सेवा सुधार गर्न नियमित अनुगमन गर्ने गरिएको छ । गाउँ सरकार आफैले सञ्चालन गरिरहेको अस्पतालबाट सहज सेवा नपाइने भन्दै सेवाग्राहीहरूको गुनासो बढेपछि निरन्तर छड्के अनुगमन गर्न थालिएको हो ।
“सरकारी अस्पताल र सरकारी विद्यालयमा नागरिकको आकर्षण कसरी बढाउने भन्ने चिन्ता थपिएको छ । एक त सरकारी भन्ना साथ नाक खुम्च्याउने नेपाली प्रवृत्ति छ । त्यसैमा सहज रूपमा सेवा प्रवाह भएन भने त बिरामीहरू आउनै छोड्लान् की भन्ने सोच्दै छु । भवन राम्रो बनेर केही हुँदैन त्यहाँबाट जनताले कस्तो र कसरी सेवा पाए भन्ने कुरा प्रमुख हो ।” गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले भने ।
सेवा प्रवाहको अवस्था बुझ्न छड्के जाने क्रममा काममा नभेटिएका, लापरबाही गरेका र अटेरी गरेका कर्मचारीहरूलाई चेतावनी समेत दिइएको छ । हाल अस्पतालमा ५२ बढी जनशक्ति कार्यरत छन् तर पनि कार्यालय समयमा आवश्यक कर्मचारी नभेटिने समस्या देखिएपछि थप कडाइ गरिएको हो ।
“एक दिन हामीले सेवा पाएनौ भनेर साढे १० बजे मलाई फोन आयो । सुतेको मान्छे करिब साढे ११ बजे अस्पताल पुगेको त, हो रहिछ । ५२ बढी कर्मचारी रहेको अस्पतालमा एक सिफ्टमा करिब १६/१७ जना कर्मचारी ड्युटीमा हुनु पर्ने हो तर त्यो दिन २ जना नर्स बाहेक कोही छैनन् । त्यसपछि काम गर्न नसक्ने केहीलाई स–सम्मान बिदाइ गरे । कसैलाई सुध्रिने अवसर दिएको छु ।” अध्यक्ष कुँवरले भने ।
२४ सैं घण्टा सेवा प्रदान गर्ने अस्पताललाई जनताको भरपर्दो अस्पताल बनाउने लक्ष्य गाउँ सरकारले लिएको छ । देशभर एक साथ शिलान्यास गरिएका ३ सय ९६ वटा आधारभूत अस्पताल मध्ये निर्माण तथा सेवा सञ्चालन गर्न दोदोधारा अस्पताल देशमै पहिलो बनेको थियो । घर आँगनमै स्वास्थ्य सेवा पाउन थालेपछि स्थानीयलाई उपचारमा टाढा जानुपर्ने र खर्चिलो हुने समस्या कम भएको छ । हाल एमबिबिएस सेवा दिइरहेको अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम लागु गरेको छ भने औषधी खरिदमा पनि प्रिन्ट दर भन्दा १० प्रतिशत छुट दिँदै आएको छ ।
प्रकाशित :- २०८१ भाद्र १५, गते शनिबार