कैलालीमा तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर ट्याक्टरको ट्रलीमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिका–१ को भालुफटामा आज बिहान करिब साढे ३ बजे से ६ प ४४३६ नम्बरको मोटरसाइकल बिग्रेर सडकमा रोकिराखेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५१५८ नम्बरको ट्याक्टरको इन्जिन नभएको ट्रलीमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार घोडाघोडी नगरपालिका–२ बस्ने २४ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० रमेश दत्त अवस्थीले जानकारी दिए । उनकाअनुसार गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो ।
यस्तै, मोटरसाइकल चालक र पछाडि सवार अर्का व्यक्ति घाइते छन् । पछाडि सवार घोडाघोडी नगरपालिका २ बस्ने २२ वर्षीय अर्जुन चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको र मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–३ बस्ने २१ वर्षीय शंकर चौधरीको टाउकोमा गम्भीर चोट लागेको र अवस्था गम्भीर रहेको डिएसपी अवस्थीले बताए । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।




