कैलालीको सुखडबाट मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार घोडाघोडी नगरपालिकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्दै आएका उनीहरूलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो। पक्राउ परेकाहरूको पहिचान हालसम्म सार्वजनिक गरिएको छैन। उनीहरूबाट चोरी गरिएका विभिन्न कम्पनीका ८ मोटरसाइकल पनि बरामद गरिएको छ।
प्रहरीले चोरीको शैली, संलग्न समूहको संजाल, र अन्य सम्भावित संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
यो समूह लामो समयदेखि कैलालीका विभिन्न ठाउँबाट मोटरसाइकल चोरीमा संलग्न रहँदै आएको प्रहरीले बताएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको पनि इलाका प्रहरी कार्यालय सुखडका प्रमुख उपरीक्षक अवस्थीले बताएका छन् ।





