सुदूरपश्चिम प्रदेश सभामा नेकपा संसदीय दलका नेता खगराज भट्ट ले प्रयोग गर्दै आएको सरकारी गाडी शनिबार पिकनिकमा प्रयोग भएको भन्दै विवाद सिर्जना भएको छ। बिदाको दिन कनेरी पार्कमा आयोजित पिकनिकमा उक्त गाडी देखिएपछि यसको दुरुपयोग भएको आरोप लागेको हो।
सरकारी नियमअनुसार बिदाको दिन सरकारी सवारी साधन प्रयोग गर्न पाइँदैन। तर, भट्टले प्रयोग गर्दै आएको गाडी शनिबार कनेरी पार्कमा देखिएपछि प्रश्न उठेको हो। उनी सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेताको हैसियतमा प्रदेश सभा सचिवालयबाट गाडी सुविधा लिँदै आएका छन्।
यस विषयमा भट्टले भने आफू पिकनिकका लागि नभई जनतासँग भेटघाट तथा स्थानीय मागबारे छलफल गर्न कनेरी गएको दाबी गरेका छन्।
“म अर्कै काममा गएको थिएँ। फर्किने क्रममा साथीहरू भेटिएपछि केही समय त्यहीँ रोकिएको मात्रै हो,” उनले भने, “अनुमति लिएरै गाडी प्रयोग गरिएको हो। संयोगवश पिकनिक भइरहेको स्थानमा पुगेको हुँ।”
उनका अनुसार कनेरी क्षेत्रमा केही दिनअघि स्थानीयले राखेका मागबारे थप छलफल गर्न शनिबार त्यहाँ पुगेका थिए। उनले उक्त दिन गाडी प्रयोगका लागि प्रदेश सभा सचिवसँग मौखिक रूपमा कुरा गरेर ३५ लिटर इन्धन लिएको पनि बताएका छन्।
यता, प्रदेश सभा सचिवालयका देवबहादुर बोगटी ले भने जेनजी आन्दोलन पछि शनिबार सरकारी सवारी साधन प्रयोगका लागि अनुमति दिन बन्द गरिएको जानकारी दिए। उनका अनुसार भट्टले बिहान फोन गरेर इन्धन मागेपछि शनिबार भएको ख्याल नगरी पेट्रोल पम्पमा तेल उपलब्ध गराउन भनिएको थियो।
बोगटीले सामान्य अवस्थामा बिदाको दिन सरकारी सवारी प्रयोग गर्न लिखित पास आवश्यक पर्ने, तर हाल अनुमति प्रणाली बन्द हुँदा जोखिम मोलेर प्रयोग हुने गरेको बताए। उनले भट्टलाई मासिक कोटाअन्तर्गत ३५ लिटर इन्धन उपलब्ध गराइएको स्पष्ट पारे।


