कैलाली निर्वाचन क्षेत्र नम्बर २ का नेकपा ९एमाले०का उम्मेदवार सूर्यबहादुर थापाले ‘हरित समृद्धि अभियान’लाई केन्द्रमा राख्दै आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। आइतबार सार्वजनिक गरिएको उक्त रोडम्यापमा आर्थिक रूपान्तरण, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई मुख्य प्राथमिकताका रूपमा अघि सारिएको छ।
थापाले क्षेत्रको समग्र विकासका लागि स्मार्ट कृषि प्रणाली, ग्रामीण समृद्धि र वातावरणमैत्री उत्पादन प्रवद्र्धन गर्ने लक्ष्य लिएका छन्। उनले सडक स्तरोन्नति, सिंचाइ विस्तार र खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यसहित सीपमूलक तालिम कार्यक्रम सञ्चालन गरिने उनले बताएका छन्। साथै सामुदायिक विद्यालयको स्तर सुधार गर्दै गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने र आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने योजना पनि प्रतिबद्धता पत्रमा समेटिएको छ। आफू निर्वाचित भए राज्यबाट प्राप्त सेवा–सुविधा विपन्न तथा जेहेन्दार विद्यार्थीको शिक्षामा खर्च गर्ने घोषणा समेत थापाले गरेका छन्।
कृषि क्षेत्रको व्यावसायीकरणका लागि राजाकाँडा फलफूल बगैँचा परियोजना सञ्चालन, सुन्तला, कागती, एभोकाडोलगायत उच्च मूल्यका बालीको एकीकृत खेती विस्तार र जडीबुटी करिडोर स्थापना गर्ने योजना अघि सारिएको छ। उत्पादनसँगै संकलन, प्रशोधन र निर्यात संरचना विकास गरी रोजगारी र आय वृद्धि गर्ने लक्ष्य राखिएको छ।
पूर्वाधार विकासतर्फ सडक, पुल, विद्युत्, सिंचाइ र खानेपानी आयोजनालाई तीव्रता दिने, सुरक्षित आवास कार्यक्रम लागू गर्ने तथा आवश्यक स्थानमा पक्की र झोलुङ्गे पुल निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ। पालिकाबीच सडक सञ्जाल विस्तार गर्ने र जलविहार केन्द्र स्थापना गर्ने योजना पनि समेटिएको छ।
त्यस्तै कृषि आधुनिकीकरण अन्तर्गत वैज्ञानिक तीनबाली प्रणाली विस्तार, ड्रिप तथा स्प्रिंकलर सिंचाइ प्रविधि प्रवद्र्धन र हाई–टेक तरकारी जोन स्थापना गर्ने कार्यक्रम अघि सारिएको छ। प्रतिबद्धता पत्र आर्थिक, सामाजिक, कृषि, पूर्वाधार, युवा तथा खेलकुद, वन–वातावरण, पर्यटन र सुशासन गरी आठ शीर्षकमा विभाजित छ।
चिसापानी–राजकाँडा केवलकार अभियानसँग जोडिएका थापाले सुदूरपश्चिमलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएका छन्। उनले आगामी पाँच वर्षभित्र पाँच हजार रोजगारी सिर्जना गर्ने र २० हजार परिवारलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गर्दै ‘हरित समृद्धि अभियान’ले कैलाली–२ को समग्र रूपान्तरण गर्ने विश्वास व्यक्त गरेका छन्।




