कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा परम्परागत धार्मिक गुरु, समुदायका अगुवा तथा विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका व्यक्तिहरूसँग सामाजिक मूल्यमान्यता र सामाजिक अभ्यासका विषयमा नगरस्तरीय संवाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
Care iDE AC को आयोजनामा सम्पन्न कार्यक्रममा आमा र बच्चाको स्वास्थ्य तथा पोषणमा बाधा पुर्याउने हानिकारक सामाजिक मान्यता र अभ्यासबारे छलफल गरिएको थियो। विशेषगरी बालविवाह, खाद्य निषेध, लिङ्गका आधारमा हुने भेदभावजस्ता व्यवहारले आमा र बच्चाको स्वास्थ्य तथा पोषणमा पार्ने नकारात्मक प्रभावबारे सचेत गराइएको थियो।
कार्यक्रमको सहजीकरण पत्रकार उन्नति चौधरीले गरेकी थिइन्। अन्तरक्रियामा घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले नगरपालिकामा देखिएका पोषणसम्बन्धी समस्या, त्यसका कारण, आमा र बच्चामा दीर्घकालीन असर तथा समाधानका उपायबारे जानकारी गराएका थिए। साथै, स्वास्थ्य तथा पोषण सुधारका लागि नगरपालिकाले लिएका नीति तथा कार्यक्रमबारे समेत उनले प्रकाश पारे।
यसैगरी महिला शाखा प्रमुख इन्दु जोशीले नगरपालिकामा महिला तथा बालबालिकाको अवस्थाबारे जानकारी दिइन् भने महिला तथा बालबालिका समानता न्याय अधिकृत सरिता चौधरीले सम्बन्धित योजना तथा कार्यक्रमबारे जानकारी हराएकी थिइन्। कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगर प्रवक्ता तथा वडा अध्यक्ष घनश्याम ओझाले पनि आफ्नो धारणा राखेका थिए।
संवाद कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। 




