समाचार सारांश
- • १५ लाख क्षतिपूर्ति माग अस्वीकारपछि पीडित पक्षको मुद्दा फिर्ता नलिने अडान, ‘सामाजिक कामका लागि रकम मागेको’ दाबी
- • गत सोमबार दिउँसो लठुवा खोलामा पिकनिक खाने क्रममा दुई समूहबीच विवाद हुँदा स्थानीय सुनिल खड्का घाइते भएका थिए। उनको टाउकोमा चोट लागेको छ।
कैलालीको घोडागोडी नगरपालिका–८ का वडा अध्यक्ष वीरबहादुर साउदविरुद्ध मुद्दा दर्ता भएको छ ।
गत सोमबार दिउँसो वणपानी खोलामा पिकनिक खाने क्रममा दुई समूहबीच विवाद हुँदा स्थानीय सुनिल खड्का घाइते भएका थिए। उनको टाउकोमा चोट लागेको छ।
पीडित खड्काले वडा अध्यक्ष साउदले नै ढुंगाले प्रहार गरी आफ्नो टाउकोमा चोट पुर्याएको दाबी गरेका छन् । घटनापछि इलाका प्रहरी कार्यालय सुखडले मङ्गलबार बिहान वडा अध्यक्ष साउदलाई पक्राउ गरेको थियो । पक्राउ परेपछि खड्काले वडा अध्यक्ष साउदसहितको समूहविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए।
प्रहरीले बुधबार अदालतमा म्याद थपका लागि धनगढी लैजाने तयारी गरे पनि पीडितकै अनुरोधमा प्रहरीले वडा अध्यक्षलाई आफन्तको जिम्मा लगाएको थियो । “त्यतिबेला पीडित खड्काले नै अहिलेको लागि मुद्दा प्रक्रिया अगाडि नबढाइदिनु होला । हाम्रो छलफल जारी छ भने ।” प्रहरी श्रोतले भन्यो ।
बिहिबार इलाका प्रहरी कार्यालय सुखडमा भएको छलफलमा पीडित समूहले १५ लाख रुपैयाँ क्षतिपूर्ति माग गरेपछि वडा अध्यक्ष साउँदले सो रकम दिन अस्वीकार गरेका थिए।
त्यस लगत्तै पीडित खड्काले मिलापत्र पनि नहुने र मुद्दा फिर्ता नलिने अडान लिँदै जाहेरी दर्ता गरेका हुन् ।
उनले आफूले माग गरेको रकम व्यक्तिगत प्रयोजनका लागि नभई सामाजिक काममै खर्च गर्ने सोचका साथ मागिएको बताएका छन् ।
“गम्भीर अपराध गरेको छ, त्यत्तिकै छोडियो भने भोलि अर्कोलाई पनि आक्रमण हुन सक्छ । त्यसैले क्षतिपूर्ति रकम सामाजिक काममै खर्च गर्ने सर्तमा मागेको हुँ।” खड्काले भने ।
यता वडा अध्यक्ष साउँदले भने पीडितको सम्पुर्ण औषधि उपचार आफुले गर्ने तर तोकेरै मागिएको १५ लाख रुपैयाँ दिन नसकिने प्रतिक्रिया दिएका छन । “लागेको सम्पुर्ण औषधि उपचार म गरिदिन्छु । तर तोकेरै मागिएको रकम दिन सकिदैन । १५ लाख नै उनीहरुलाई चाहिने भए कानुन अनुसार जान्छु । कानुनले दिनुपर्छ भन्यो भने दिउँला ।” वडा अध्यक्ष साउँदको भनाई उदृत गर्दै प्रहरी स्रोतले भन्यो ।
बिहिबार छलफलकै क्रममा कार्यालय समय सकिएपछि शुक्रबार अदालतमा म्याद थप गरिने इलाका प्रहरी कार्यालय सुखडले बताएको छ।




