समाचार सारांश
- • डीएसपी अवस्थीलाई जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका छन्।
- • अवस्थी गत चैतदेखि इलाका प्रहरी कार्यालय सुखडको कमाण्ड सम्हाल्न आएका हुन्।
इलाका प्रहरी कार्यालय सुखडका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीलाई २०८२ मंसिर महिनाको ‘Police of the Month’ (उत्कृष्ट प्रहरी) घोषित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार संगठनले दिएको जिम्मेवारी उच्च व्यवसायिकता, लगनशीलता र कर्तव्यनिष्ठाका साथ निर्वाह गर्दै सांगठनिक उद्देश्य प्राप्तिमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै डीएसपी अवस्थीलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।
उनले आफ्नो मातहतमा फरार प्रतिवादी पक्राउ, जेल ब्रेक गरी फरार रहेका कैदीबन्दी नियन्त्रण, नदीजन्य पदार्थको अवैध दोहन नियन्त्रण, अवैध कवाड संकलनमा संलग्न सवारी साधन नियन्त्रण गरी राजस्व संकलन, जघन्य तथा असिमित मुद्दा फर्छ्यौट, अवैध लागूऔषध नियन्त्रण, अवैध काठ बरामद लगायतका उल्लेखनीय कार्यहरू गरेर जिल्लामै उत्कृष्ट प्रहरी अफिसर बन्न सफल भएका छन्।
त्यस्तै, नेपाल प्रहरीको नीति अनुरूप समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्दै समाजमा शान्ति सुरक्षा, अमनचयन कायम राख्न उनले खेलेको भूमिकालाई संगठनले उच्च मूल्यांकन गरेको जनाएको छ। यसबाट स्थानीय जनमानसमा प्रहरीप्रतिको विश्वास र छवि थप सुदृढ भएको प्रहरीको भनाइ छ।
डीएसपी अवस्थीले सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने गरी कार्य सम्पादन गर्दै समग्र प्रहरी संगठनको छवि उच्च राख्न महत्वपूर्ण योगदान पुर्याएको ठहर गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई सम्मानित गरेको हो।
उत्कृष्ट प्रहरी घोषणा गरिएका डीएसपी अवस्थीलाई जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका छन् ।
अवस्थी गत चैतदेखि इलाका प्रहरी कार्यालय सुखडको कमाण्ड सम्हाल्न आएका हुन्।



