सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी गरि रहेका छन् । ‘पद अनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर सत्तारुढ दलले उपसभामुख रानाविरूद्ध प्रतिनिधि सभामा प्रस्ताव दर्ताको तयारी गरेका हो ।
संविधानको धारा ९१ उपधारा (६) को (ग) मा पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था छ ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले उपसभामुखले पछिल्लो समय पद अनुकूलको आचरण नगरेको उल्लेख गर्दै मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।
‘उपसभामुखले पद अनुकूलको आचरण व्यवहार गर्नु भएको छैन् । पदीय मर्यादाको कुरा गर्नु भएको छैन,’ बर्तौलाले भने, ‘यो गम्भीर त्रुटि हो, यो मानवीय त्रुटि होइन । नियतवश गरिएको पदीय आचरण विपरीतको गतिविधि हो ।’
रास्वपाको कोटाबाट उपसभामुख बनेकी रानालाई हटाउने तयारी अघि बढेपछि राजनीतिक वृत्त तरङ्गित भएको छ ।