अनलाइन गेम खेलाउने बहानामा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–१ का २५ वर्षीय सुवास भाट रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीका अनुसार अनलाइनमार्फत गेम खेलाएर रकम ठगी गरेको उजुरीका आधारमा भाटलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको हो। कञ्चनपुरको वेदकोट नगरपालिका निवासी एक महिलाले दिएको उजुरीपछि प्रहरी सक्रिय भएको थियो।
भाटलाई इलाका प्रहरी कार्यालय सुखडको सहयोगमा पक्राउ गरिएको हो। अनुसन्धानका क्रममा अनलाइन गेममार्फत ठगी गरिएको रकम भाटको खातामार्फत कारोबार भएको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त गिरोहले फेसबुकमार्फत आकर्षक अफर देखाउँदै ‘गेम जितेको’ भन्दै प्रलोभन दिने र रकम पाउन कर तिर्नुपर्ने बहानामा अग्रिम पैसा असुल्ने गरेको खुलेको छ। सोही क्रममा ती महिलाबाट करिब दुई लाख ५० हजार रुपैयाँ ठगी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
यस घटनामा कैलालीको अत्तरिया क्षेत्रका केही व्यवसायी तथा राजनीतिक पहुँच भएका युवाको समेत संलग्नता हुन सक्ने प्रहरी स्रोतको दाबी छ। थप अनुसन्धान अघि बढाइए यो गिरोह कैलाली हुँदै काठमाडौंसम्म फैलिएको हुन सक्ने अनुमान गरिएको छ।
कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) खडकबहादुर खत्रीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताए। उनका अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले हालसम्म औपचारिक जाहेरी दर्ता भएको छैन। पीडित पक्षले सोमबार जाहेरी दर्ता गर्ने तयारी गरिरहेको र त्यसपछि अनुसन्धानलाई थप तीव्र बनाइने उनले जानकारी दिए।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी रमेश दत्त अवस्तीका अनुसार भाटलाई शनिबार सुखडबाट नियन्त्रणमा लिएर कञ्चनपुर प्रहरीलाई बुझाइएको हो। उनी सुखडस्थित एक इन्टरनेट कम्पनीमा कार्यरत रहेको समेत खुलेको छ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र बनाएको जनाएको छ।




