सरकारी जागिर लगाइदिने तथा विभिन्न शीर्षकमा अनुदान उपलब्ध गराइदिने प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला डोटी आदर्श गाउँपालिका वडा नम्बर २ घर भई हाल कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा बस्दै आएका ३३ वर्षीय तुला राम कोलीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र टिमिल्सिनाका अनुसार कोलीले विभिन्न व्यक्तिहरूलाई सरकारी जागिर लगाइदिने र अनुदान उपलब्ध गराइदिने भन्दै रकम असुल्दै आएको आरोप छ। उनलाई निजकै घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ।
यस घटनामा हालसम्म जिल्ला प्रहरी कार्यालय कैलालीमा कुल १० वटा उजुरी दर्ता भएका छन्। उजुरीहरूका आधारमा अन्दाजी एक करोड २० लाख रुपैयाँ बराबरको ठगी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।


