माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मर्यादा विपरीत कार्य गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटले तीन जना युवकहरूलाई नियन्त्रणमा लिएको छ। रौतहटको गरुडा नगरपालिका वडा नं। ४ स्थित गरुडा बजारबाट प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा रौतहट गरुडा नगरपालिका(७ बस्ने १८ वर्षीय चन्दन पटेल, बृन्दावन नगरपालिका(७ का २० वर्षीय रोहित कुमार पटेल र सर्लाही बलरा नगरपालिका(८ का १८ वर्षीय धिरज साह रहेका छन्।
उनीहरूलाई चैत २० गते बिहान १०स्३० बजेको समयमा परीक्षाको गोप्यता र मर्यादा भंग गरिरहेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक जीवन कुमार मैनालीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले ह्वाट्सएप ग्रुप बनाएर परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिर पठाउने र मोबाइल फोनको माध्यमबाट परीक्षार्थीहरूलाई उत्तर उपलब्ध गराउने कार्यमा संलग्न रहेको पाइएको छ। विद्युतिय माध्यमको प्रयोग गरी परीक्षाको गरिमामा आँच पुर्याएको भन्दै उनीहरूमाथि प्रहरीले निगरानी बढाएको थियो।
इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई हाल थप अनुसन्धान अगाडि बढाएको छ। प्रहरी निरीक्षक मैनालीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।


