
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ का निवर्तमान वडाध्यक्ष कृष्णबहादुर शाहको मृत्यु भएको छ ।
बिहीबार दिउँसो करिब १ बजे घोडाघोडी नगरपालिका ९ को सिमली खोला नजिकै गम्भीर अवस्थामा उनी फेला परेका थिए । सल्फास नामक विषादीको खाली डब्बा र एउटा डायरीसँगै रहेको अवस्थामा प्रहरीले उनलाई गम्भीर अवस्थामा फेला पारेको थियो ।
घरबाट करिब ९ः३० बजे निस्किएका शाहले केही व्यक्तिलाई ‘अब यो संसारमा म रहन्न’ भनेका थिए । ती व्यक्तिले नै प्रहरीलाई शाहले आफूलाई बताएको कुरा भन्दै उनी जङ्गलतर्फ लागेको सूचना दिए । सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखडको टोली त्यसतर्फ गएको थियो ।
‘सूचना पाएलगत्तै हामी त्यहाँ लाग्यौँ ’ इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दीर्घ बहादुर साउँदले भने, ‘ उहाँलाई गम्भीर अवस्थामा हामीले भेट्यौ र तत्काल उद्वार गरेर अस्पताल ल्यायौँ । ’
प्रहरीले तत्काल नै घोडाघोडी अस्पताल ल्याउँदा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको थियो । पोष्ट मार्टमको लागि अहिले शव सेती प्रादेशिक अस्पताल ल्याइएको छ । प्रहरीले भेटेको सुसाइट नोट माथि भने अनुसन्धान गर्ने जनाएको छ । सुसाइट नोटमा उनले परिवारका सदस्यहरुलाई सम्बोधन गरेर केही भावनाहरू पोखेका छन् । त्यस्तै राजनीति प्रति
नैराश्य जगाउने गरि सन्देश पनि दिएको पाइएको छ ।


‘म आजको मितिबाट यो संसारमा रहँदैन । सबैको बोझ भए । यो बोझमा रहन चाहँदैन । सत्य सत्य रामराम’ सुसाइट नोट लेखिएको छ ‘सबै मिलेर बस्नु । झैझगडा नगर्नु । ’
सुसाइट नोटमा आफ्नो दाजुलाई सम्बोधन गर्दै राजनीतिमा नआउन पनि आग्रह गरेका छन् ।
‘दाइ तपाई राजनीतिमा नआउनु । यो लाइन ठिक छैन । आफ्नै व्यापार गरि खानु ’ सुसाइट नोटमा भेटिएको छ ।
सुसाइट नोटमा हस्ताक्षर र मिति पनि लेखिएको पाइएको प्रहरीले जनाएको छ ।

‘परिवारका सदस्यहरूले पनि सुसाइट नोटमाथि केही प्रश्न गर्नु भएको छ । हामीले अनुसन्धानको लागि पनि यो फोरेन्सिक ल्याबमा पठाउँछौँ ’ प्रहरी निरीक्षक साउँदले भने ‘प्रारम्भिक रुपमा विष सेवनबाटै उहाँको मृत्यु भएको देखिन्छ । हामी अनुसन्धानमै छौँ ।’
२०७४ सालको स्थानीय चुनावमा नेकपा एमालेबाट वडा नम्बर ९ मा विजयी भएका शाह अहिले नेकपा एमाले घोडाघोडी नगर कमिटी उपाध्यक्ष समेत थिए ।



