सर्प दंशबाट हुने मानवीय जोखिम न्यूनीकरण गर्न कैलालीको बर्दगोरिया गाउँपालिकाले दोदोधरा अस्पताल मार्फत जेठ २ गतेबाट सर्प दंशको निःशुल्क उपचार थाल्ने भएको छ । यसका लागी अस्पतालले बुधवार अनुमति प्राप्त गरेको छ भने बिहीबार औषधी आइपुग्ने छ । गर्मी याममा सर्पको जोखिम हुने तथा टोकिहालेमा समयमै उपचार नपाउँदा ज्यान नै जोखिममा पर्ने समस्यालाई मध्यनजर गर्दै यसको उपचार थालिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले बताए ।

यस अघि सर्पदंसको उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढी जानु पर्ने बाध्यता थियो जुन दुरीका हिसाबले टाढा छ । बर्दगोरियामै यसको उपचार सुरु भएपछि जिल्लाको लम्किचुहा, घोडाघोडी, भजनी र गौरीगङ्गा नगरपालिका तथा महोन्याल र जोशीपुर गाउँपालिकाका नागरिकहरूले समेत सहज सेवा पाउने छन् ।
सर्प दंश उपचारको व्यवस्थापन बर्दगोरिया गाउँपालिकाले गर्ने छ भने औषधी व्यवस्थापन जिल्ला स्वास्थ्य कार्यालय कैलालीले गर्नेछ । सर्पदंसको उपचारका लागी अस्पताल सँग दक्ष र तालिम प्राप्त जनशक्ति पर्याप्त रहेको दोदोधरा अस्पतालका प्रमुख डा। किशोर अधिकारीका जानकारी दिए ।


