
कैलालीमा सामान्य टाउको दुखाइले मेडिकल गएका युवाको मृत्यु भएको छ । सोमबार बिहान नजिकैको दहित मेडिकलमा टाउको दुख्यो भनेर उपचारका लागि गएका घोडाघोडी ८ का ३३ वर्षीय नीरज बहादुर शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक रमेश अवस्थिले जानकारी दिनु भएको छ । शाहीलाई मेडिकलका ल्याब असिस्टेन्ट महावीर चौधरीले एउटा सिरिन्ज दिएका थिए ।
मेडिकलमा सँगै उपचार गराई रहनुभएका प्रत्यक्षदर्शी खडक बहादुर साउँदले सिरिन्ज दिएको केही मिनेटमै शाहीको मृत्यु भएको बताउनुभयो ।
साउँदका अनुसार, उहाँ पनि झाडापखालाको उपचार गराई रहनु भएको थियो । उपचारको क्रममा ल्याब असिस्टेन्ट चौधरीले निरजलाई सिरिन्ज लगाउनु भयो । सिरिन्ज लगाए लगत्तै नीरजको मुखबाट फिँज निस्कन थाल्यो । अवस्था गम्भीर देखिएपछि ल्याब असिस्टेन्ट चौधरीले कृत्रिम श्वास दिने प्रयास गरे, तर केही समयमै नीरजको मृत्यु भयो ।
मृतकका ससुरा रामबहादुर शाहीले बताएअनुसार, बिहान घरबाट निस्कँदा निरजले टाउको दुखेको भन्दै आफैँ मोटरसाइकल चलाएर मेडिकल गएका थिए । तर केही समयमै ज्वाइँको मृत्यु भएको खबर आयो, जुन विश्वास गर्नसमेत कठिन लागेको शाहीको भनाई छ ।
सो क्षेत्रका बासिन्दाहरु उपचारका लागि दहित मेडिकलमै जाने गर्दछन । उपचारमा संलग्न ल्याब असिस्टेन्ट चौधरी घटनापछि फरार रहेका छन् । मेडिकल सञ्चालक भने कामको सिलसिलामा बाहिर थिए । घटनाबारे थप अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक अवस्थिले बताउनु भयो ।





