भारतबाट ठुलो मात्रामा सुन, चाँदी र नगद चोरी गरी नेपाल भगेका गिरोहको खोजी गर्ने क्रममा कैलाली प्रहरीले ४४९ ग्राम चाँदी बरामद गरेको छ। घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको बर्दगोरियाबाट एक जना र अछामबाट एक जना पक्राउ गरेको प्रहरीले जानकारी दिएपनी पक्राउ पर्नेहरूको विवरण भने सार्वजनिक गर्न मानेको छैन ।घटनामा संलग्न अन्य ३ जनाको खोज कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अनुसन्धानको क्रममा कैलालीको बौनियामा रहेको एक सुन पसलबाट सो परिणाममा चाँदी बरामद गरिएको हो । सो चाँदी स्थानीय नृप साउँदको अगुवाइमा स्थानीय पसलमा राखिएको अवस्थामा फेला परेको प्रहरीको दाबी छ । “उनी घटनामा संलग्न हुन या होइनन् त्यसको अनुसन्धान भइरहेको छ । तर उनिले नै सो परिमाणको चाँदी पसल साहुलाई राख्न दिएको रहेछन् ।” एक प्रहरी अधिकारीले भने ।
आफूहरू चोरीमा संलग्न नभएको तर नृप साउदको आग्रहमा चाँदी आफूले सुरक्षित राखिदिएको पसल सञ्चालन चित्र सुनारले बताए । “चाँदी ल्याएर नृप भाइको सम्पर्कमा केही भाइहरू आएको रहेछन् । चाँदी चोरिएको हो या होइन मलाई थाहा छैन । मैले राखिदिएको मात्र हुँ ।” उनले भने ।
प्रहरीले नृप साउँद सहितका केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको भए पनि उनीहरू सोधपुछ गरि छाडिएको खुलेको छ। एक प्रहरी अधिकारीका अनुसार, घटनामा संलग्न अन्य व्यक्तिहरूलाई ३ दिनभित्र सम्पर्कमा ल्याउने सर्तमा उनीहरूलाई छाडिएको हो। बरामद भएको ४४९ ग्राम चाँदीसँगै केही सुनका गरगहना समेत फेला परेको प्रहरीले स्वीकार गरे पनि यसबारे विस्तृत जानकारी दिन भने आनाकानी गरिरहेको छ।
स्रोतले भने अनुसन्धानको केन्द्रमा नृप साउँदलाई राख्नु पर्ने दाबी गरेको छ । स्रोतका अनुसार नृपले भारतबाट चोरी गरी ल्याइएको मध्ये करिब २ केजी चाँदी यसअघि नै बिक्री गरेर उक्त रकम भारतमा रहेका चोरीमा संलग्न व्यक्तिहरूलाई पठाइसकेका छन्। हाल प्रहरीले बरामद गरेको ४४९ ग्राम चाँदी पनि नृपले नै एक स्थानीय सुन पसलमा बिक्री गरेको स्रोतको दाबी छ ।


