पूर्व–पश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका–१ डोडापुल नजिक शनिबार साँझ करिब ६:४५ बजे बसले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनासहित बसमा सवार अन्य १६ जना घाइते भएका छन्।
बैतडी जिल्लाको पाटन नगरपालिका–४ घर भएका ४५ वर्षीय भुपेन्द्र सिंह बिष्टले चलाएको सु.प्र.०२००४ ख १३०१ नम्बरको बसले घोडाघोडी–१ कौवा बस्ने करिब ६५ वर्षीय भक्त बटालालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी निरीक्षक खेम बिक्रम केसीको कमाण्डमा टोली खटिएर उद्धार तथा उपचारको काम गरिएको थियो। घाइतेमध्ये पैदलयात्री बटलालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल रिफर गरिएको छ।
बसमा सवार घाइतेहरू विभिन्न जिल्लाका रहेका छन्। पैदल यात्री बटाला बाहेक बसमा सवार सबै घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।
घाइतेहरूको परिचय यसप्रकार छः
दार्चुला, महाकाली नगरपालिका–५ की २१ वर्षीया पशुपती बम
दार्चुला, महाकाली नगरपालिका–१ का ३२ वर्षीय दीपेन्द्र सिंह बोहरा
दार्चुला, लेकम गाउँपालिका–१ का २९ वर्षीय रुपेश बिष्ट
दार्चुला, नौगाड गाउँपालिका–६ का ३३ वर्षीय हरदीप सिंह ठगुन्ना
दार्चुला, दुहुँ गाउँपालिका–२ का १९ वर्षीय मनिष बडाल
बैतडी, दशरथचन्द नगरपालिका–६ का २८ वर्षीय हरि पन्त
बैतडी, सिगास गाउँपालिका–२ का २० वर्षीय विजय विक
ललितपुर महानगरपालिका–२४ का ३० वर्षीय अभिषेक अधिकारी
बैतडी, पाटन नगरपालिका–६ का ४९ वर्षीय सुरेन्द्र सिंह बिष्ट
बैतडी, दशरथचन्द नगरपालिका–११ का धन सिंह भण्डारी
दार्चुला, दैहिम गाउँपालिका–४ की ३५ वर्षीया मञ्जु लोधवाल
रुपन्देही, बुटवल उपमहानगरपालिका–२ की २१ वर्षीया मनिका खत्री
रुपन्देही, बुटवल उपमहानगरपालिका–२ की १८ वर्षीया अन्जना विक
बैतडी, सिगास गाउँपालिका–२ की सङ्गीता घतानी
ललितपुर महानगरपालिका–२४ का २९ वर्षीय महेन्द्र घिमिरे
दार्चुला, दैहिम गाउँपालिका–४ का २५ वर्षीय बिरेन्द्र सिंह लोधवाल
प्रहरीका अनुसार बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।


