कैलालीको गौरीगंगा नगरपालिका–११ शिवपुरमा गहुँ दाउने क्रममा थ्रेसरमा हात च्यापिँदा एक जना घाइते भएका छन्।
मंगलबार साँझ करिब ५ बजे स्थानीय ४१ वर्षीय गोरख सिंह धामी घाइते भएका हुन्। उनी गहुँ दाउने क्रममा ट्याक्टरमा जडान गरिएको थ्रेसरमा गहुँ हालिरहेका बेला दाहिने हात च्यापिँदा गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।
घटनामा प्रयोग भएको से २ त ११८३ नम्बरको ट्याक्टर ३० वर्षीय अंकित सिंहले चलाइरहेका थिए।
घाइते धामीलाई तत्काल धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका लागि लगिएको छ। चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको छ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मसुरियाबाट प्रहरी नायब निरीक्षक वीर बहादुर बिष्टको कमाण्डमा टोली खटिएको थियो। टोलीले घटनास्थलमा पुगेर ट्याक्टरमा जडान गरिएको थ्रेसर नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार घटनास्थल इलाका प्रहरी कार्यालय मसुरियाबाट करिब ६ किलोमिटर दक्षिण–पूर्वमा पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


