आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अघि क्यानडाले राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई बर्खास्त गरेको छ । क्यानडा क्रिकेट संघमा नयाँ नेतृत्व र प्रशिक्षकको विषयलाई लिएर विवाद भएपछि दासानायकेलाई बखास्त गरेको एजेन्सीले जनाएको छ ।

क्रिकेट क्यानडाका उपाध्यक्ष गुर्दिप क्लेयरले प्रमुख प्रशिक्षक हटाइएको जानकारी गराएका हुन्। विश्वकप सुरु हुन डेढ साता बाँकी रहँदा प्रमुख प्रशिक्षक बर्खास्तपछि पनि नयाँ जिम्मेवारीबारे केही निर्णय भएको छैन ।
गत महिना क्यानडाको क्रिकेट संघको निर्वाचन भएको थियो । नयाँ नेतृत्वले पुराना सदस्यलाई विस्थापित गरेको थियो । संघका उपाध्यक्ष गुर्दिपले आवश्यक प्रक्रिया अनुसारै प्रशिक्षक हटाइएको जनाएका छन् । संघले खडा गरेको तीन सदस्यीय छनोट कमिटी र दासानायकेबीच सम्बन्ध राम्रो छैन । संघले दासानायकेलाई हटाउनुको कारण भने स्पष्ट पारेको छैन ।
दोस्रो पटकको कार्यकालमा दासानायकेले क्यानडालाई पहिलो पटक टी–२० विश्वकपमा छनोट गराएका थिए । २०११ मा उनी प्रशिक्षक र कप्तानी रहँदा क्यानडाले पहिलो पटक एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता खेलेको थियो । २०२२ जुलाईदेखि दासानायकेले क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक पद सम्हालेका थिए । उनी श्रीलंका र क्यानडाका पूर्व खेलाडी समेत हुन् । क्यानडाको क्रिकेट इतिहासमा उनी सफल प्रशिक्षकका रूपमा चिनिन्छन् । २०२३ मा उनकै प्रशिक्षकमा क्यानडाले एकदिवसीय मान्यता प्राप्त गरेको थियो । विश्वकप अन्तर्गत क्वालिफायर प्ले अफमा स्थान पक्का गरेपछि क्यानडाले एकदिवसीय मान्यता प्राप्त गरेको हो ।



