कैलालीको बर्दगोरिया गाउँपालिकामा शुक्रवारबाट १४औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । विद्यार्थीको क्षमता विकास तथा प्रदर्शनका लागी हरेक वर्ष आयोजना गरिने प्रतियोगितालाई गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गरे ।
प्रतियोगितामा ६ वटा सामुदायिक र ५ वटा संस्थागत गरी ११ विद्यालयको सहभागिता हुने भएको छ । प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी लगायतका खेलहरू खेलाइने छ । यस अघि प्रतियोगिता सञ्चालन गरेर ट्रफी र प्रमाणपत्र दिँदै आएको गाउँपालिकाले यस वर्षबाट भने विजेतालाई तामाबाट निर्मित शिल्ड दिने भएको छ । लगातार ३ पटक विजेता बन्ने विद्यालयले उक्त शिल्ड आफू मातहतमा लिने छ ।
गाउँपालिकाका सामाजिक विकास समिति संयोजक मिथुन गौतमको अध्यक्षतामा सुरु भएको प्रतियोगिताको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवर रहेका थिए । यस्तै कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी, वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द बि.क. वडा नम्बर ३ का वडा अध्यक्ष मानऋषी आचार्य, वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम डगौरा र वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने अधिकांश व्यक्तिहरूले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई थप प्रभावकारी बनाउँदै लैजानु पर्ने कुरामा जोड दिएका छन् । यो प्रतियोगिता विद्यार्थीको क्षमता प्रदर्शन मात्र नभई खेलाडी उत्पादन गर्ने माध्यम समेत रहेको भन्दै वक्ताहरूले यस तर्फ आम सरोकारवालाहरू गम्भीर बन्नु पर्ने बताए ।
प्रकाशित :- २०८० माघ ५, गते शुक्रबार