
महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मङ्गलबार भएको उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।
गण्डकीले दिएको ५६ रनको सामान्य झिनो लक्ष्य सुदूरपश्चिमले ९.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
सुदूरपश्चिमका लागि ओपनर रेवती धामी २१ रनमा अविजित रहिन् । कप्तान विन्दु रावलले ६, मनिषा बोहराले ९ र कविता कुँवरले ८ र शोभा रोकायाले ४ रन जोडिन् ।
गण्डकीका लागि आकृति तिवारी र अपेक्षा बुढाथोकीले १-१ विकेट लिइन् ।

यसअघि गण्डकीले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा ५५ रन बनाएको थियो ।
गण्डकीका लागि रेखा तामाङले १३ र कप्तान सृजना पौडेलले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
सुदूरपश्चिमका लागि रेवती धामीले ४ तथा, जानकी थापा र रितु कनौजियाले १-१ विकेट लिइन् ।
अब अर्को खेलमा एपीएफ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।