समाचार सारांश
- • मूल्याङ्कनमा शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार, शिक्षक व्यवस्थापन, पाठ्यक्रम तथा पाठ्यसामग्री र अन्य व्यवस्थापन गरी पाँच प्रमुख शीर्षकलाई आधार बनाइएको छ।
- • नगरपालिकाका अनुसार यी पाँचै शीर्षकमा २५–२५ अङ्क निर्धारण गरी कुल १०० अङ्कको मापदण्ड तयार गरिएको थियो।
- • प्राप्ताङ्कका आधारमा सप्तश्री माध्यमिक विद्यालय र कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुल समान ८७ अङ्कसहित शीर्ष स्थानमा रहेका छन्। दुवै विद्यालयले शैक्षिक उपलब्धि शीर्षकमा पूर्ण २५ अङ्क प्राप्त गरेका छन् भने भौतिक पूर्वाधारमा २२, शिक्षक व्यवस्थापनमा २०, पाठ्यक्रम तथा पाठ्यसामग्रीमा १२ र अन्य व्यवस्थापनमा ८ अङ्क प्राप्त गरेका छन्।
कैलालीको घोडाघोडी नगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका ३१ वटा संस्थागत विद्यालयको विस्तृत वर्गीकरण सार्वजनिक गरेको छ। शैक्षिक गुणस्तर सुधार तथा विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यस मूल्याङ्कनमा शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार, शिक्षक व्यवस्थापन, पाठ्यक्रम तथा पाठ्यसामग्री र अन्य व्यवस्थापन गरी पाँच प्रमुख शीर्षकलाई आधार बनाइएको छ।
नगरपालिकाका अनुसार यी पाँचै शीर्षकमा २५–२५ अङ्क निर्धारण गरी कुल १०० अङ्कको मापदण्ड तयार गरिएको थियो। सोही आधारमा गरिएको मूल्याङ्कनमा ७ विद्यालय ‘ख’ वर्गमा पर्न सफल भएका छन्। जसमध्ये ६ वटा विद्यालय माध्यमिक तह (कक्षा १० सम्म) सञ्चालनमा रहेका छन् भने १ विद्यालय आधारभूत तह (कक्षा ८ सम्म) सञ्चालनमा रहेको छ।
‘ख’ वर्गमा पर्ने माध्यमिक तहका विद्यालयहरूमा घोडाघोडी सामुदायिक माध्यमिक विद्यालय, सुखड, सप्तश्री माध्यमिक विद्यालय सुखड,कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुल पहलमानपुर, पायोनियर्स स्कलर्स एकेडेमी पहलमानपुर, लिटिल एन्जल्स इङ्लिस बोर्डिङ स्कुल सुखड, र न्यू स्टार इङ्लिस बोर्डिङ स्कुल सुखड रहेका छन्। त्यस्तै आधारभूत तहतर्फ चिल्ड्रेन गार्डेन इङ्लिस बोर्डिङ स्कुल सुन्दरपुर ‘ख’ वर्गमा परेको छ।
प्राप्ताङ्कका आधारमा सप्तश्री माध्यमिक विद्यालय र कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुल समान ८७ अङ्कसहित शीर्ष स्थानमा रहेका छन्। दुवै विद्यालयले शैक्षिक उपलब्धि शीर्षकमा पूर्ण २५ अङ्क प्राप्त गरेका छन् भने भौतिक पूर्वाधारमा २२, शिक्षक व्यवस्थापनमा २०, पाठ्यक्रम तथा पाठ्यसामग्रीमा १२ र अन्य व्यवस्थापनमा ८ अङ्क प्राप्त गरेका छन्।
त्यसैगरी लिटिल एन्जल्स इङ्लिस बोर्डिङ स्कुल, पायोनियर्स स्कलर्स एकेडेमी तथा चिल्ड्रेन गार्डेन इङ्लिस बोर्डिङ स्कुलले समान ८५ अङ्क प्राप्त गर्दै दोस्रो स्थानमा छन्। यी विद्यालयहरूले शैक्षिक उपलब्धिमा २५, भौतिक पूर्वाधारमा २०, शिक्षक व्यवस्थापनमा २०, पाठ्यक्रम तथा पाठ्यसामग्रीमा १२ र अन्य व्यवस्थापनमा ८ अङ्क प्राप्त गरेका छन्।
घोडाघोडी सामुदायिक माध्यमिक विद्यालय सुखडले शैक्षिक उपलब्धिमा २०, भौतिक पूर्वाधारमा २०, शिक्षक व्यवस्थापनमा २०, पाठ्यक्रम तथा पाठ्यसामग्रीमा १५ र अन्य व्यवस्थापनमा ८ अङ्कसहित जम्मा ८३ अङ्क प्राप्त गरेको छ।
यसैगरी न्यू स्टार इङ्लिस बोर्डिङ स्कुल, सुखडले शैक्षिक उपलब्धिमा २२, भौतिक पूर्वाधारमा २०, शिक्षक व्यवस्थापनमा २०, पाठ्यक्रम तथा पाठ्यसामग्रीमा १२ र अन्य व्यवस्थापनमा ८ अङ्क प्राप्त गर्दै कुल ८२ अङ्कसहित ‘ख’ वर्गका विद्यालयमध्ये पुच्छरमा रहेको छ ।
नगरपालिकाको वर्गीकरणअनुसार ६ वटा विद्यालय ‘ग’ वर्गमा र १८ वटा विद्यालय ‘घ’ वर्गमा परेका छन्।
नगरपालिकाले सार्वजनिक गरेको यो वर्गीकरणले विद्यालयहरूको वास्तविक अवस्था पहिचान गर्नुका साथै गुणस्तर सुधारका लागि आवश्यक योजना निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, यसले अभिभावकलाई विद्यालय छनोटमा समेत सहजता प्रदान गर्ने विश्वास गरिएको छ
नगरपालिकाले विद्यालय वर्गीकरणसँगै शुल्क समेत निर्धारण गरेको छ। ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा परेका विद्यालयका लागि कक्षा अनुसार फरक–फरक अधिकतम मासिक शुल्क निर्धारण गरिएको हो।
त्यसअनुसार ‘ख’ वर्गका विद्यालयले नर्सरीमा २२००, एलकेजीमा २३००, युकेजीमा २४००, कक्षा १ मा २५००, कक्षा २ मा २६००, कक्षा ३ मा २७००, कक्षा ४ मा २८००, कक्षा ५ मा २९००, कक्षा ६ मा ३०००, कक्षा ७ मा ३२००, कक्षा ८ मा ३३५०, कक्षा ९ मा ३६०० र कक्षा १० मा ३८५० सम्म शुल्क लिन पाउने व्यवस्था गरिएको छ।
त्यसैगरी ‘ग’ वर्गका विद्यालयका लागि नर्सरीमा रु. १९००, एलकेजीमा २०००, युकेजीमा २१००, कक्षा १ मा २२००, कक्षा २ मा २३००, कक्षा ३ मा २४००, कक्षा ४ मा २५००, कक्षा ५ मा २६००, कक्षा ६ मा २७५०, कक्षा ७ मा २९००, कक्षा ८ मा ३०५०, कक्षा ९ मा ३३०० र कक्षा १० मा ३५५० सम्म शुल्क तोकिएको छ।
यस्तै ‘घ’ वर्गमा परेका विद्यालयले नर्सरीमा रु. १६००, एलकेजीमा १७००, युकेजीमा १८००, कक्षा १ मा १९००, कक्षा २ मा २०००, कक्षा ३ मा २१००, कक्षा ४ मा २२००, कक्षा ५ मा २३००, कक्षा ६ मा २४५०, कक्षा ७ मा २६००, कक्षा ८ मा २७५०, कक्षा ९ मा ३००० र कक्षा १० मा ३२५० सम्म शुल्क लिन पाउने गरी निर्धारण गरिएको छ।
नगरपालिकाले सार्वजनिक गरेको यो वर्गीकरणले विद्यालयहरूको वास्तविक अवस्था पहिचान गर्नुका साथै गुणस्तर सुधारका लागि आवश्यक योजना निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, यसले अभिभावकलाई विद्यालय छनोटमा समेत सहजता प्रदान गर्ने विश्वास गरिएको छ। वर्गीकरणसँगै शुल्क समेत निर्धारणले विद्यालयहरूमा एकरूपता कायम हुने, अभिभावकलाई शुल्कबारे स्पष्टता र सहजता हुने तथा मनोमानी शुल्क नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।








