कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ को नव निर्मित वडा भवनको शुक्रवार उद्घाटन भएको छ । वडा अध्यक्ष गोविन्द बि.क.को अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर रहेका थिए । यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी, वडा नम्बर-१ का वडा अध्यक्ष मिथुन गौतम लगायत आम सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
यस अघि मासिक १३ हजारमा स्थानीयको घर भाडामा लिई वडा कार्यालय सञ्चालन गरिएको थियो । वडा कार्यालय भवन निर्माणका लागि स्थानीय गणेश बहादुर रावतले २०७२ सालमा ३ कट्टा जग्गा दान गरेका थिए । सोही जग्गामा बनेको भवनबाट सेवा सुचारु भए सँगै स्थानीयले सेवा लिन तथा वडालाई सेवा प्रवाहमा समेत सहज हुने छ ।
यो भवन उद्घाटन भए सँगै ६ वटा वडा रहेको यस गाउँपालिकाको ३ नम्बर वडा बाहेक सबैले आफ्नो भवनबाट सेवा सुचारु गरेका छन् । वडा नम्बर ४ र ५ ले यस अघिबाट नै नयाँ भवनबाट सेवा दिइरहेको छ भने वडा नम्बर १ र ६ ले तत्कालीन गाविस भवनबाट सेवा दिँदै आएको छ । वडा नम्बर ३ को नयाँ भवन निर्माणाधीन अवस्थामा छ ।
प्रकाशित :- २०८० माघ १२, गते शुक्रबार