कैलालीको घोडाघोडी नगरपालिकाले सार्वजनिक गरेको आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षाफलले संस्थागत विद्यालयको वर्चस्व देखाएको छ। समग्र नतिजामा सुधार देखिए पनि सामुदायिक विद्यालयहरूको नतिजा भने केही प्रतिनिधि विद्यालयबाहेक सन्तोषजनक देखिएको छैन।
नगरपालिकाअनुसार यस वर्ष १ हजार ७१० जना विद्यार्थी सामुदायिक विद्यालयबाट र ३६१ जना संस्थागत विद्यालयबाट परीक्षामा सहभागी भएका थिए। सामुदायिकतर्फ ३८ र संस्थागततर्फ १२ विद्यालय सहभागी थिए।
४ जीपीएमा संस्थागतकै दबदबा
यस वर्ष २३ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन्। तीमध्ये २१ जना संस्थागत विद्यालयका छन् भने सामुदायिक विद्यालयबाट मात्र २ जनाले ४ जीपीए ल्याएका छन्।
सामुदायिकतर्फ जनज्योति माध्यमिक विद्यालय, सुन्दरपुरका प्रशान्त कुँवर नगरमै प्रथम बनेका छन् भने कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालय, पहलमानपुरका आशिष घिमिरेले पनि ४ जीपीए हासिल गरेका छन्।
जनज्योति माध्यमिक विद्यालयबाट ६० जना विद्यार्थी सहभागी भएकामा सबै विद्यार्थी उत्तीर्ण भएका छन्। ४ जीपीएसहित शतप्रतिशत नतिजा ल्याउँदै उक्त विद्यालय सामुदायिकतर्फ उत्कृष्ट बनेको छ।
यता १२९ विद्यार्थी सहभागी रहेको कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालयबाट ११० जना उत्तीर्ण भई सबैभन्दा बढी विद्यार्थी पास गराउने विद्यालय बनेको छ।
संस्थागत विद्यालयतर्फ चिल्ड्रेन गार्डेन इङ्लिस बोर्डिङ स्कुल, सुन्दरपुरका ४ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन्। पायोनियर स्कलर्स एकेडेमी र कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलबाट ७–७ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन् भने अन्य विद्यालयबाट पनि १–१ जनाले उत्कृष्ट नतिजा ल्याएका छन्।
ए प्लस (३.६० GPA) मा पनि संस्थागतकै अग्रता
३.६० अर्थात् ए प्लस ल्याउने विद्यार्थीको संख्यामा पनि संस्थागत विद्यालयहरू अगाडि देखिएका छन्। 

सामुदायिक विद्यालयतर्फ दशरथ माध्यमिक विद्यालयबाट १६ जना, जनज्योति माध्यमिक विद्यालयबाट ९ जना, जनकल्याण माध्यमिक विद्यालयबाट ८ जना, कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालयबाट ८ जना, गङ्गरी आधारभूत विद्यालयबाट ६ जना, चौड्याल आधारभूत विद्यालयबाट ५ जना, भैरव आधारभूत विद्यालयबाट ५ जना, बाल ज्योति आधारभूत विद्यालयबाट ३ जना, मेलघट्टी माध्यमिक विद्यालयबाट ३ जना, जनज्योति आधारभूत विद्यालयबाट ३ जना, मोहन्याल आधारभूत विद्यालयबाट ३ जना, सरस्वती आधारभूत विद्यालयबाट २ जना, पहलमान सिंह मेमोरियल माध्यमिक विद्यालयबाट २ जना, दरख माध्यमिक विद्यालयबाट १ जना, बालविकास आधारभूत विद्यालयबाट १ जना, जनप्रिय आधारभूत विद्यालयबाट १ जना, राष्ट्रिय माध्यमिक विद्यालयबाट १ जना, कालिका माध्यमिक विद्यालयबाट १ जना र छडी माध्यमिक विद्यालयबाट १ जना गरी जम्मा ९० जना विद्यार्थीले ३.६० GPA (ए प्लस) ल्याएका छन्।
संस्थागत विद्यालयतर्फ कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलबाट २७ जना, पायोनियर स्कलर्स एकेडेमीबाट २७ जना, पिस लाइट इङ्लिस बोर्डिङ स्कुलबाट २२ जना, श्री सप्तश्री माध्यमिक विद्यालयबाट १७ जना, लिटिल एन्जल्स इङ्लिस बोर्डिङ स्कुलबाट १२ जना, चिल्ड्रेन गार्डेन इङ्लिस बोर्डिङ स्कुलबाट ९ जना, ज्ञान ज्योति विद्या मन्दिरबाट ६ जना, न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलबाट ५ जना, जेनियम एकेडेमीबाट ५ जना, सेती साइन इङ्लिस मिडियम स्कुलबाट ४ जना र देव दीर्घायु विद्या निकेतनबाट २ जना गरी जम्मा १३६ जना विद्यार्थीले ३.६० GPA (ए प्लस ) ल्याएका छन्।
यसरी हेर्दा ३.६० GPA र ४ जीपीए दुवै सूचकमा संस्थागत विद्यालयहरू अगाडि देखिएका छन्। साथै परीक्षामा सहभागी संस्थागत विद्यालयमध्ये सबैले शतप्रतिशत नतिजा ल्याउँदा न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलका २ जना विद्यार्थी मात्र नन–ग्रेड भएका छन्।
सुधार भए पनि सामुदायिकतर्फ चुनौती
समग्रमा नगरपालिकाको नतिजा गत वर्षको तुलनामा सुधारिएको भए पनि सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अझै चुनौतीपूर्ण देखिएको छ। केही विद्यालयले राम्रो उदाहरण प्रस्तुत गरे पनि अधिकांश विद्यालयले अपेक्षाअनुसार नतिजा दिन सकेका छैनन्।
यसले सामुदायिक विद्यालयमा शिक्षण–सिकाइको गुणस्तर सुधार गर्न थप ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ।


