कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयको ३६ कोठे नमुना शैक्षिक भवन निर्माणको शिलान्यास गरिएको छ। शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भवनको शिलान्यास गरेका हुन्।
शिलान्यास कार्यक्रममा सामाजिक विकास मन्त्री मेघराज खड्का, नवनिर्वाचित प्रतिनिधिसभा सदस्य जगतप्रसाद जोशी, नीति आयोगका उपाध्यक्ष डा. जीवन राणा, सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मी, घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावत लगायतको उपस्थिति रहेको थियो। 
विद्यालयको भौतिक पूर्वाधार सुदृढ गर्ने उद्देश्यले निर्माण हुन लागेको उक्त ३६ कोठे नमुना शैक्षिक भवनका लागि संघीय सरकारबाट ६ करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट २ करोड २७ लाख बजेट विनियोजन गरिएको छ।
टेन्डर आह्वान प्रक्रियामार्फत धनगढीस्थित खप्तड भैरव जेभीसँग ४ करोड ६० लाख ७७ हजार ४ सय ३० रुपैयाँमा २०८२ साल फागुन ११ गते निर्माण सम्झौता भएको जनाइएको छ। सम्झौताअनुसार निर्माण कम्पनीले उक्त भवन २०८४ साल जेठ ११ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ।
भवन निर्माण सम्पन्न भएपछि विद्यालयको शैक्षिक वातावरण थप व्यवस्थित हुने र विद्यार्थीलाई अध्ययन–अध्यापनका लागि आवश्यक भौतिक सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ।


