राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज जिल्ला अदालत रूपन्देहीमा उपस्थित भएका छन् । अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले बुधबार कार्यालय खुले लगत्तै लामिछाने अदालतमा उपस्थित भएको बताए ।

सूचना अधिकारी मरासिनीका अनुसार लामिछानेलाई कार्यालय खुल्ने बित्तिकै अदालतमा उपस्थित भए । अदालती प्रक्रियाअनुसार केही समयमै कुन इजलासमा पठाउने निश्चित हुनेछ ।
बुटवलको सुप्रिम सहकारीको बचत ठगी र संगठित अपराधमा लामिछानेविरूद्ध मुद्दा दर्ता भएको थियो । लामिछाने मंगलबार साँझ नै केही कानुन व्यवसायीको साथमा भैरहवा पुगेका थिए ।
यो भन्दा अगाडि लामिछानेलाई पोखराको सुर्यदर्शन सहकारी बचत अपचलन मुद्दामा र काठमाण्डौको स्वर्णलक्ष्मी सहकारी मुद्दामा अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।
गत पुस २५ गते कास्की अदालतले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो भने माघ २ गते काठमाण्डौ अदालतले ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।



