बाँके । बाँकेमा परीक्षाको मर्यादा र संवेदनशीलतामाथि गम्भीर प्रश्न खडा गर्दै परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको छ। मंगलबार बिहान ८ बजेदेखि सञ्चालन हुने गरी तय भएको एसइइकाे सामाजिक विषयको प्रश्नपत्र करिब एक घण्टा अगाडि नै बाहिरिएको हो।
बिहान ७ बजे नै केही व्यक्तिको हातमा प्रश्नपत्र पुगेको र सामाजिक सञ्जालमार्फत व्यापक रूपमा फैलिएको आशंका गरिएको छ। परीक्षा केन्द्रमा आधिकारिक रूपमा वितरण हुनुअगावै प्रश्नपत्र बाहिरिएपछि जिल्लाको शैक्षिक क्षेत्रमा चिन्ता र तरंग पैदा भएको छ।
जिल्ला शिक्षा समन्वय समिति, बाँकेका प्रमुख मधुसूदन न्यौपानेले प्रश्नपत्र बाहिरिएको पुष्टि गर्दै यसबारे गम्भीर अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो। “प्रश्नपत्र कसरी र कहाँबाट बाहिरियो भन्ने विषयमा हामीले सूक्ष्म अनुसन्धान थालेका छौँ,” प्रमुख न्यौपानेले भने, “यसमा संलग्न दोषी जोसुकै भए पनि कडा कानुनी कारबाही गरिनेछ।”
उहाँका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी प्रशासनलाई समेत अनुरोध गरिएको छ। प्रहरीले प्राविधिक र अन्य पक्षबाट छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउने विश्वास दिलाएको छ।
प्रश्नपत्र बाँकेकै कुनै केन्द्रबाट बाहिरिएको हो वा अन्य जिल्लाबाट भन्नेबारे हालसम्म यकिन हुन सकेको छैन। यसबारे स्पष्ट पार्दै प्रमुख न्यौपानेले भने, “अहिले सामाजिक सञ्जालको चुनौती ठूलो छ। एक सेकेन्डमै पूर्वदेखि पश्चिमसम्म सूचना आदानप्रदान हुन्छ। त्यसैले अनुसन्धानको प्रक्रियालाई तीव्र बनाइएको छ।”
परीक्षाको गोपनीयता भंग गर्ने र शैक्षिक वातावरण बिथोल्ने यस्ता गतिविधिले विद्यार्थी र अभिभावकहरूमा त्रास पैदा गरेको छ। प्रशासनले भने यस घटनाको जतिसक्दो चाँडो सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएको छ।


