कैलालीको घोडाघोडी नगरपालिकाले आधारभूत तह कक्षा ८ को परीक्षाफल सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक गरिएको नतिजाअनुसार यस वर्ष ७८.९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
शिक्षा शाखाका अनुसार कुल २ हजार ७१ जना विद्यार्थी सहभागी परीक्षामध्ये १ हजार ६ सय ३४ जना उत्तीर्ण भएका छन्। सामुदायिक विद्यालयतर्फ १ हजार ७ सय १० जना सहभागीमध्ये १ हजार २ सय ७५ जना (७४.५६ प्रतिशत) उत्तीर्ण भएका छन् भने संस्थागत विद्यालयतर्फ ३ सय ६१ जना सहभागीमध्ये ३ सय ५९ जना (९९.४५ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन्।
यस वर्ष २३ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन्। तीमध्ये सामुदायिक विद्यालयका २ जना र संस्थागत विद्यालयका २१ जना रहेका छन्। सामुदायिकतर्फ जनज्योति माध्यमिक विद्यालय, सुन्दरपुरका प्रशान्त कुँवरले ४ जीपीए ल्याउँदै नगरमै प्रथम भएका छन् भने कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालय, पहलमानपुरका आशिष घिमिरेले पनि ४ जीपीए हासिल गरेका छन्।
जनज्योति माध्यमिक विद्यालयका ६० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। ४ जीपीएसहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएसँगै उक्त विद्यालय नगरमै उत्कृष्ट बनेको छ। यता नगरपालिकाभित्र सबैभन्दा बढी १२९ विद्यार्थी सहभागी रहेको कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालयमा ११० जना विद्यार्थी उत्तीर्ण भएका छन्, जसले उक्त विद्यालयलाई सबैभन्दा बढी विद्यार्थी पास गराउने विद्यालय बनाएको छ।
संस्थागत विद्यालयतर्फ चिल्ड्रेन गार्डेन इङ्लिस बोर्डिङ स्कुल, सुन्दरपुरका ४ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन्। प्रतिशतका आधारमा उक्त विद्यालय नगरपालिकाभित्र सबैभन्दा बढी ४ जीपीए ल्याउने विद्यालय बनेको छ। त्यस्तै पायोनियर स्कलर्स एकेडेमी, पहलमानपुर र कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुल, फलमानपुरका ७–७ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन्।
यस्तै लिटिल एन्जल्स इङ्लिस बोर्डिङ स्कुल, सुखड, न्यू स्टार इङ्लिस बोर्डिङ, सुखड र सेती साइन इङ्लिस बोर्डिङ स्कुल, रामपुरका १–१ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन्।
१० वटा परीक्षा केन्द्रमार्फत सञ्चालन गरिएको उक्त परीक्षामा सामुदायिक तथा संस्थागत गरी ५० वटा विद्यालयका विद्यार्थी सहभागी भएका थिए। परीक्षा चैत ९ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको थियो।
गत वर्ष ६३.९४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए भने यस वर्ष १४.९६ प्रतिशतले सुधार भई ७८.९० प्रतिशत पुगेको छ। यसले नतिजामा उल्लेखनीय सुधार देखिएको पुष्टि गरेको छ।


