
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने तयारी गरिरहेका छन् । विश्वासको मत लिनको लागि मुख्यमन्त्रीले प्रदेश सभाको बैठक बोलाइ दिन सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन्।

सभामुखका अनुसार बुधबार ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने छ ।बिहीबार बस्ने संसद बैठकमा विश्वासको मत लिनेबाहेक अन्य कार्यतालिका नरहने सभामुखले बताएका छन्।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका छन्। केन्द्रमा राजनीतिक सत्ता समीकरण फेरिएपछि गत फागुन २३ मा माओवादी केन्द्र र २४ फागुनमा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएका थिए।
दिएको समर्थन कुनैपनि दलले फिर्ता लिएको अवस्थामा एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
प्रदेशमा कांग्रेसका १८ सिटसहित नागरिक उन्मुक्ति पार्टीका ७, एक सिट रहेको राप्रपा र स्वतन्त्र सांसद डा. तारा जोशीको समर्थनमा बहुमतका लागि आवश्यक २७ मत पुगाउने रणनीतिमा रहेका मुख्यमन्त्री शाह नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवादले सङ्कटमा परेका छन्।

राप्रपा र स्वतन्त्र सांसद समेतको समर्थनमा बहुमत जुटाउने रणनीतिअनुसार मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका सात प्रदेश सांसदमध्ये पाँच जनालाई मन्त्री बनाएका छन्। नागरिक उन्मुक्तिको विवादले विश्वासको मत पाउनेमा ढुक्क हुन नसकेका शाह आफ्नो पार्टीका सभापति शेरबहादुर देउवासँग परामर्श गर्न सोमबार बेलुकी नै काठमाडौँ गई सकेका छन्।