
कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर, सुर्खेतमा ‘कर्णाली एजुकेशन एक्स्पो (सिजन वान)’ सम्पन्न भएको छ। एक्स्पोमा कर्णालीको समग्र शैक्षिक अवस्थामाथि बहुआयामिक छलफल र विचार–मन्थन गरिएको थियो।


एक्स्पोमा मन्त्री, सचिव, विज्ञ, अन्तर्राष्ट्रिय तथा स्थानीय संघ–संस्थाका प्रतिनिधि गरी १३ जना प्यानलिस्टबीच विभिन्न सत्रमा गहन बहस गरिएको थियो। शैक्षिक सुधारका लागि शिक्षामा आमूल परिवर्तनको आवश्यकता रहेको निष्कर्ष निकालिएको छ।
कार्यक्रममा “अब कर्णाली जाग्छः शिक्षामा पुनर्विचार, भविष्यको पुनर्निर्माण”, “व्यवहारिक, व्यवसायिक शिक्षा र नवप्रवर्तन”, “स्रोत, सीप र शिक्षा” लगायतका विषयमा केन्द्रित सत्रहरू सञ्चालन गरिएको थियो।

एक्स्पोबाट सार्वजनिक गरिएको घोषणापत्रमा साक्षरता मात्र बढाउने शिक्षा प्रणालीले मुलुकको समग्र विकास सम्भव नहुने उल्लेख गरिएको छ। व्यावसायिक, व्यवहारिक र सीपमूलक शिक्षामा आधारित पाठ्यक्रम निर्माण गर्नुपर्ने सुझाव दिइएको छ।

घोषणापत्रमा कर्णालीमा अपाङ्गता भएका र सीमान्तकृत बालबालिकाको शिक्षाको पहुँच, शिक्षकको क्षमता विकास, बालमैत्री शैक्षिक पूर्वाधार, तथा उद्यमशीलता र नवप्रवर्तनमा आधारित शिक्षा प्रणाली विकासका विषयहरूमा सरकारको ध्यानाकर्षण गराइएको छ।

कर्णालीका विद्यालयहरूमा गुणस्तरीय शिक्षा अभाव, उच्च शिक्षामा पहुँचको कमी, र दक्ष जनशक्ति उत्पादन गर्न नसकेको अवस्था सुधार गर्न एक्स्पोले संघीय, प्रदेश तथा स्थानीय सरकारलाई नीतिगत परिवर्तन र ठोस कार्यक्रम ल्याउन माग गरेको छ।

कर्णाली विकास केन्द्रद्वारा आयोजित यस एक्स्पोको निष्कर्षलाई सार्वजनिक छलफल र सरकारी नीतिमा समावेश गर्नुपर्नेमा समेत जोड दिइएको छ। आयोजकले कर्णालीको शैक्षिक भविष्य उज्यालो बनाउन एक्स्पोको निष्कर्षहरू कार्यान्वयन गर्न सबै पक्षको साझा प्रयास अपरिहार्य रहेको बताएका छन्।

बैशाख ३ गते सुरु भएको एक्स्पो ३ दिनसम्म सञ्चालन भएको थियो । कर्णाली विकास केन्द्रको आयोजनामा सुरु भएको एक्स्पोमा विभिन्न क्षेत्रका विज्ञ, अभियन्ता, अभ्यासकर्ताको प्रस्तुति तथा सहभागीता रहेको थियो ।