कैलालीको घोडाघोडी नगरपालिकामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीय जनतालाई स्वास्थ्य सेवा लिन सहज भएको छ ।साबिकको साडेपानी स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पतालको सेवा प्रवाह सञ्चालन गरेसँगै यहाँका स्थानीयलाई सहज भएको हो । आफ्नै गाउँघरमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा लिन पाउँदा स्थानीय खुसी भएका छन् ।
सामान्य बिरामी हुँदा धनगढी, नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको घोडाघोडी नगरपालिका–६ का कृष्ण बहादुर बिकले बताए । ‘आफ्नै गाउँ नजिकै यसरी धेरै सेवा लिन पाउँदा खुसी लागेको छ’, उनले भने, ‘दिनरात जुन समयमा स्वास्थ्य समस्या परे पनि उपचार पाइन्छ भन्नेमा विश्वस्त भएका छौँ ।’ नगर अस्पताल व्यवस्थित हुँदा आफूहरूलाई सहज भएको उपचारका लागि अस्पताल आएका देव सिंह बिष्टले बताए ।
‘अहिले त यहीँ भिडियो एक्सरे, एक्सरे रगत परीक्षणसहित आवश्यकताअनुसार भर्नासमेत गर्न थालिएको रहेछ, अहिले हामीलाई स्थानीय सरकार गाउँ–ठाउँमा आएको अनुभूति भएको छ’, उनले भने । पहिले उपचार गर्ने रकमले गाडी भाडामै खर्च गरेर जिल्ला बाहिर जाने स्थानीय आफ्नै नगरपालिकाभित्र उपचार पाउँदा खुसी भएका छन् ।नगर अस्पतालबाट अहिले सर्पदंश, रेबिज, प्रयोगशाला, प्रसूतिलगायतका आकस्मिक सेवासहित १५ शय्याबाट अन्तरङ्ग सेवा सञ्चालन गरिएको घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले बताए ।
‘उपचारलाई व्यवस्थित र थप प्रभावकारी बनाउन भिडियो एक्सरे, एक्सरे सेवालाई नियमित र विशेषज्ञसहितको स्वास्थ्य परीक्षणलगायतका सेवा दिँदै अझ व्यवस्थित बनाउन निर्माणाधीन भवन निर्माणको कामलाई समेत अघि बढाइने छ’, उनले भने ।हाल अस्पतालमा ३ एमबीबीएस डाक्टरसहित नर्सिङ हेल्थ असिस्टेन्ट, नर्स, अहेव, अनमी, रेडियोग्राफर, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट, र नगर एम्बुलेन्ससहित सेवा सञ्चालनमा रहेको शाखा प्रमुख रावतले बताए ।नगर अस्पतालमा विशेषज्ञ चिकित्सकसहित १५ शय्याको सेवा सञ्चालन भएपछि बिरामीको चाप बढेको नगर अस्पतालका डाक्टर सरोज श्रेष्ठले बताए । उनका अनुसार अहिले दैनिक ५० देखि १ सय जनासम्म ओपिडीमा सेवा लिन आउने गरेका छन् ।नगर अस्पतालमा स्वास्थ्य बीमा सुरु भएपछि बिरामीको संख्या थप बढेको छ । अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हाम्रो प्रयास जारी छ उनले भने, ।
घोडाघोडी नगरपालिका र आसपासका स्थानीयका लागि सहज स्वास्थ्य पहुँच स्थापना नगरपालिकाको प्राथमिकतामा रहेको नगरप्रमुख खडक रावतले बताए । निर्माणाधीन नगर अस्पतालको सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएपश्चात थप सेवासमेत विस्तार हुने उनले बताए ।



प्रकाशित :- २०८१ कार्तिक ८, गते बिहीबार

