कैलालीको घोडाघोडी नगरपालिकाले राति १० बजेपछि घर बाहिर ननिस्कन नगरबासीलाई आग्रह गरेको छ । पालिकाले आज एक सूचना जारी गर्दै राति १० बजेपछि घर बाहिर ननिस्कन नगरबासीलाई आग्रह गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत शिव सिंह भण्डारीद्धारा हस्ताक्षरित एक सूचना जारी गर्दै पालिकाले रातिको समयमा विशेष गरी वडा नम्बर १, २, ४, ६ र ८ का स्थानीयहरुलाई यस्तो आग्रह गरको हो । उक्त वडाहरुका विभिन्न स्थानमा केही दिनदेखि रातिको समयमा स्थानीय बासीहरुको घर, गोठ, परालमा अज्ञात समुहद्धारा आगो लगाउने, चोरी गर्ने जस्ता अपराधिक क्रियाकलापहरु गरि गाउँ टोल आतंकित बनाउने गरेको र सो कार्यबाट समाजमा त्रासको वातावरण सृजना गर्ने कार्यहरु बढी रहेको भन्ने गुनासो आइरहेको र त्यस्ता क्रियाकलापमा संलग्न जो कोहीलाई कानुन अनुसार कारवाहीको लागि नजिकको सुरक्षा निकायमा जानकारी गराउन अनुरोध गरिएको छ ।
‘रातिको समयमा सावधानी अपनाउन र अति आवश्यक काम बाहेक राति १० बजेपछि घर बाहिर ननिस्किन हुन जानकारी गराईन्छ’, सूचनामा भनिएको छ । सूचनामा शुभकार्यमा समेत राति १० बजेपछि बाजा बजाउन र हिड्डुल नगर्न भनिएको छ ।



