
कैलालीको घोडाघोडीबाट तीन थान अवैध भरुवा बन्दुक सहित मङ्गलवार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालिकाको वडा नम्बर १२ नकफोडुवाका ३७ वर्षीय मोहन बहादुर खत्री रहेका छन् ।


घरमा बन्दुक लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र कुमार पालको नेतृत्वमा खटिएको प्रहरीले बन्दुक सहित घरधनी खत्रीलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका खत्रीमाथि अनुसन्धान थालिएको डिएसपी पालले जानकारी दिए । “गोप्य सूचनाको आधारमा शंका लागि घरमा खोज तलास गर्दा निज खत्रीको घरबाट तीन थान बन्दुक फेला पारेका छौ । उनलाई हातहतियार तथा खरखजाना ऐन अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएका छौँ ।” डिएसपी पालले भने ।




