नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्र बिक्रम चन्द (बिप्लव) ले शीर्ष नेताहरुको ध्यान युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बनाउनुभन्दा विदेश पठाउने र उनीहरुबाट आउने रेमिट्यान्सबाट तलव भत्ता खानमा मात्रै केन्द्रित भएको बताएका छन् ।

धनगढीमा आयोजित ‘एकिकृत जनक्रान्ती जिन्दावाद’ समसामयिक विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मिठा नारा दिएर मात्रै देशमा सम्बृद्धी नआउने दावी गरेका छन् । ‘नेताहरु मिठा भाषण गर्नुहुन्छ, हामी सम्बृद्धी ल्याउँछौँ भन्नुहुन्छ तर दैनिक हजारौँ युवाहरु विदेश पलायन भइरहेका छन्,’ उनले भने, ‘देशमा समृद्धि ल्याउनका लागि सबैभन्दा पहिला आत्मनिर्भर बन्नुपर्छ तर शीर्ष पार्टीका नेताहरु फ्रि भिषा, फ्रि टिकटदेखि विदेश जान बिना धितो श्रृणसम्मका कार्यक्रम ल्याउनुहुन्छ, यसले विदेश पलायन रोकिनुको सट्टा विदेश जान थप प्रोत्साहन गरिरहेको छ ।’
अहिले १२ कक्षा पास गर्ने बित्तिक्कै पढ्दै काम गर्दै भन्ने नारा सहित विदेश जाने लहर चलेको छ उनले भने, ‘प्राबिधिक विज्ञता हासिल गर्न विदेश जानु ठिक हो तर यो खालको लहर ठिक होइन, यसले देशमा कुनै सम्बृद्धी ल्याउँदैन मात्र, नेताको तलव भत्ता आउने माध्यम मात्रै बन्ने छ, त्यस कारण यो लहर रोक्नुपर्छ, १२ कक्षा पास भए लगत्तै विदेश जान बन्देज लाउनुपर्छ, सके देशमै आत्मनिर्भर हुने वातावरण श्रृजना गर्नुपर्छ ।’
अहिलेदेखि नै आत्मनिर्भर अभियान थाले विदेश पलायन बिस्तारै रोकिने र अबको २० वर्षभित्र नेपाल आत्मनिर्भर बन्ने उनको भनाई थियो ।
महासचिव चन्दले देशमा आर्थिक विकास नहुनुको मुख्य कारण राजनीतिक अस्थिरता रहेको बताए । छिमेकी देशमा १५ वर्ष एउटैले सत्ता चलाइरहेका छन्, हाम्रो देशमा ६ महिना वर्षदिनमा सरकार ढल्छ उनले भने, ‘एउटा सरकारले बनाएका निति अनि नियुक्त गरेका कर्मचारीले काम गर्न नपाउँदै घर जानुपर्ने हुन्छ, त्यो अर्बौँ लगानी खेर जान्छ, फेरी अर्को सरकार बन्ने र लगानी मात्रै खेर जाने परम्पराको अन्त्य गर्नुपर्छ, देशमा राजनीतिक स्थायित्व भए मात्रै आर्थिक सुधार हुन्छ ।’
चन्दले हल्लाका पछाडि दौडिने जमात बढेको टिप्पणी समेत गरेका छन् । काम गर्ने तथा त्यसको दिगो प्रभाव पार्ने खालको एजेण्डा भन्दा हल्लाका पछि जमात जाँदा भविष्यमा समस्या पर्ने उनको भनाई थियो ।



