कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ।
शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था अनुसार विद्यालयले सूचना प्रकाशन गर्दै वैशाख ३० गतेभित्र आवेदन दिन आह्वान गरेको हो।
विद्यालयका प्रधानाध्यापक युवराज बमका अनुसार विपन्न तथा अति निम्न आर्थिक अवस्था भएका, गरिब तथा जेहेन्दार, अपाङ्गता भएका, मेधावी, आदिवासी जनजाति, दलित, टुहुरा तथा द्वन्द्वपीडित बालबालिकालाई सरकारले तोकेको मापदण्डअनुसार छात्रवृत्ति प्रदान गरिनेछ।
विद्यालयले आवेदनका लागि निवेदन, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो कक्षाको ग्रेडसिट तथा विपन्नता वा अपाङ्गता पुष्टि हुने कागजात आवश्यक पर्ने जनाएको छ।
घोडाघोडी नगरपालिका अन्तर्गतका संस्थागत विद्यालयमध्ये सरकारले तोकेको १० प्रतिशत छात्रवृत्ति व्यवस्थालाई औपचारिक रूपमा सार्वजनिक सूचना निकालेर कार्यान्वयन प्रक्रिया अघि बढाउने विद्यालयका रूपमा कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुल पहिलो विद्यालय बनेको बताइएको छ।
“संस्थागत विद्यालयहरूले ‘एउटै अभिभावकका तीन छोराछोरी भए एक जनालाई निःशुल्क पढाइने’ भन्दै अभिभावकलाई आकर्षित गर्ने तर पछि तिनै विद्यार्थीलाई सरकारले तोकेको १० प्रतिशत छात्रवृत्ति कोटामै समावेश गर्ने गरेको गुनासो उठ्दै आएको छ। यस विषयमा निर्भीक पोष्टले पटक–पटक समाचार प्रकाशन गर्दै आएको थियो।”
कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले स्पष्ट मापदण्डसहित सार्वजनिक रूपमा छात्रवृत्ति आवेदन खुला गर्नु सकारात्मक अभ्यासका रूपमा हेरिएको छ।







