कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित विवेक रेस्टुरेन्ट एण्ड बारमा कार्यरत एक हेल्परको आगलागीमा परी ज्यान गएको छ। मृत्यु हुनेमा डडेलधुराको आलिताल गाउँपालिका अन्तर्गत बोहरा गाउँका अन्दाजी ५०–५२ वर्षीय मिनबहादुर बोहरा रहेका छन्।
प्रहरीका अनुसार रातिको समयमा होटल बन्द गरी कोठामा सुतिरहेका बेला विद्युत् आपूर्ति बन्द भएपछि लामखुट्टेबाट बच्न बोहराले अण्डाको क्यारेट बालेर सुतिरहेका थिए। सोही क्रममा बल्याङ्केटमा आगो सल्किएर कोठाभित्र आगलागी हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थी ले घटनाबारे जानकारी दिँदै आगलागी बल्याङ्केटबाट फैलिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।
प्रहरीका अनुसार मृतक बोहराको घरपरिवारसँग हालसम्म सम्पर्क हुन नसकेको र पहिचान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। उनी लामो समयदेखि उक्त होटलमा काम गर्दै आएका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आगो घोडाघोडी नगरपालिकाको दम्कल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।




