
नेपाल राष्ट्रिय क्रिकेट टोलीका युवा अलराउन्डर कुशल मल्लले संयुक्त अरब इमिरेट्स (यूएई) को इन्टरनेशनल लिग टी-२० क्रिकेट खेल्ने भएका छन् । मल्ल इन्टरनेशनल लिग टी-२० क्रिकेटका लागि डेजर्ट भाइपर्समा अनुबन्ध भएका हुन् ।

चोटका कारण प्रतियोगिताबाट बाहिरिएका नेदरल्यान्ड्सका अलराउन्डर बास डी लीडेको ठाउँमा कुशल मल्लले खेल्ने भएका हुन् । मल्लले भर्खरै सकिएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा ८ खेलमा २ सय २७ रन बनाउनुका साथै ९ विकेट हात पारेका थिए ।
मल्ल टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडीको पाँचौ स्थानमा रहेका छन् । उनले ४७ खेलमा एक शतक, चार अर्धशतकसहित १ सय ४७ भन्दा धेरैको स्ट्राइक रेटमा ९ सय १७ रन बनाएका छन् ।
डेजर्ट भाइपर्स क्रिकेटका निर्देशक टम मुडीले कुशल मल्ललाई टोलीमा स्वागत गर्न पाउँदा खुशी भएको बताएका छन् । कुशल आबद्ध भएको डेजर्ट भाइपर्सले पहिलो खेलमा आउँदो जनवरी १२ मा अबुधाबी नाइट राइडर्ससँग खेल्ने खेल तालिका रहेको छ ।
