कैलालीको बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुङ्गानाको बिदाइ गरिएको छ । उनको सरुवा भएपछि मङ्गलवार एक कार्यक्रमका बिच बिदाइ गरिएको हो ।

पालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीले स्वैच्छिक अवकाश लिएपछि ढुङ्गानाले २०८० सालको पुस महिनामा बर्दगोरिया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए । आठ महिनाको अवधिमा जनप्रतिनिधि तथा कर्मचारीहरूबाट आफूलाई महत्त्वपूर्ण सहयोग प्राप्त भएको बताएका छन् । “यो गाउँपालिकाले विकास, निकास र प्रकाशको सवालमा निकै गति लिएको छ । यसको चर्चा सङ्घीय राजधानी सम्म भएको मैले सुनेको छु । लामो समय यही पालिकामा काम गर्ने मन थियो । उता जोशीपुरमा खाली भएको र मेरो घरायसी समस्या भएको र त्यतै पायक परेकाले सरुवा लिन खोजेको हु ।” उनले भने ।
बिदाइ कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले प्रमुख प्रशासकीय अधिकृतले छोटो समयमा आफूलाई महत्त्वपूर्ण सहयोग गरेको बताए । “धेरै अधुरा कामहरू थिए । उहाँ आए सँगै निकै सहज तरिकाले काम अघि बढाउनु भयो । अझै उहाँको प्रगतिको कामना गर्दछु । पालिका हुँदै मन्त्रालय सम्मको यात्रा अघि बढोस् । फेरि फेरि सहकार्य गर्न पाइयोस् ।” अध्यक्ष कुँवरले भने ।

पालिकाका उपाध्यक्ष गणेशराज गिरीले कर्मचारी सरुवा नियमित प्रक्रिया भएको भन्दै प्रमुख प्रशासकीय अधिकृतले ८ महिनाको अवधिमा कुशलता पूर्वक आफ्नो जिम्मेवारी पूरा गरेको उल्लेख गरे । साथै उनले बर्दगोरियामा जनप्रतिनिधि र कर्मचारीको समन्वय/सहकार्यले विकासको गति बढेको धारणा राखे ।

