कञ्चनपुरको वेदकोट नगरपालिकामा १५ शय्याको अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । वेदकोट नगरपालिका–३ प्राथमिक स्वास्थ्य केन्द्र रहेको क्षेत्रमा अस्पताल भवन निर्माणको काम तीन वर्षसम्म अलपत्र परेको हो ।

नेपाल सरकारको बजेटमा २ वर्ष भित्र अस्पताल निर्माणका लागि २०७८ वैशाख २२ गते सम्झौता भएको थियो । तर, सम्झौताको ४६ महिना हुँदा पनि अस्पतालको जगको काम पनि पूरा भएको छैन् । सम्झौता अनुसार २०८० वैशाखमा अस्पताल भवनको काम पूरा हुनुपर्ने हो । तर, २०८१ को माघ १९ गतेसम्म जग निर्माणको कामसमेत सकिएको छैन् । अस्पताल भवन निर्माणका लागि राजेन्द्र निर्माण सेवाले ९ करोड ७४ लाख ५ हजारमा ठेक्का पाएको हो । वेदकोट नगरपालिकाका नगर प्रमुख भोजबहादुर बोहराले अस्पताल निर्माणमा निर्माण कम्पनीले ढिलासुस्ती गरेको बताए । ‘१५ शय्याको नगर अस्पताल बन्दैछ, निर्माण कम्पनीले ढिलो गर्दै छ,’ उनले भने, ‘काम ढिलो हुँदैछ, अहिलेसम्म फाउन्डेसनसम्मको काम भएको छ ।’
नेपाल सरकारले नगर अस्पताल निर्माणका लागि बजेट विनियोजन गरेको थियो । सरकारले उपलब्ध गराउने सेवा सुविधा जनताको घर आँगनमा दिलाउन अस्पतालको भवन निर्माण गर्न ठेक्का सम्झौता गरिएको छ । सामान्य नागरिकले पनि सरकारको सेवा सुविधाको पहुँचमा ल्याउन अस्पतालको भवन निर्माणको काम थालिएको हो । तर, निर्माण कम्पनीको बेवास्ताका कारण वेदकोट नगरपालिकाका नागरिक विशेषज्ञ स्वास्थ्य उपचार सेवाबाट वञ्चित भएका हुन् । ‘नगर अस्पतालमा ६ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ,’ नगर प्रमुख बोहराले भने, ‘आधारभूत, प्रयोगशाला, इर्मेजेन्सीलगायतका सेवा सञ्चालन हुनेछन् ।’
वेदकोट नगरपालिका कञ्चनपुरको केन्द्रमा छ । दैजी–जोगबुढा सडक क्षेत्रमा अस्पताल निर्माण थालिएकाले पहाडी क्षेत्रका नागरिकलेसमेत सेवा पाउने छन् । कञ्चनपुरको बेलौरीदेखि दैजी र पहाडी क्षेत्रका नागरिकले समेत वेदकोट नगर अस्पतालबाट स्वास्थ्य उपचार पाउने छन् ।
वेदकोट नगरपालिकाका नागरिक सामान्य उपचारका लागि पनि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल जानुपर्ने बाध्यता छ । नगर अस्पतालबाट सेवा सुचारु भए उनीहरूलाई पनि सहज हुने छ । नेपाल सरकारले अस्पताल भवन निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गर्ने छ । अस्पतालका उपकरण तथा औषधीसमेत नेपाल सरकार र सुदूरपश्चिम सरकारले दिनेछ । वेदकोट नगरपालिकाले १५ शय्याको अस्पताल सञ्चालन गर्नेछ । न्यून शुल्कमा नगरपालिकाले अस्पतालबाट सेवन दिनेछ ।



