
कैलाली : सुदूरपश्चिम प्रदेशमा हालसम्म एक गाउँपालिका उपाध्यक्षसहित पाँच वडा अध्यक्षको पद रिक्त रहेको छ।

२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित उपाध्यक्षसहित पाँच वडाअध्यक्षको मृत्यु भएपछि ती पद अहिलेसम्म खाली रहेका छन्। रिक्त स्थानमा उपनिर्वाचन गर्न सरकारले पूर्वतयारी समेत थालेको छ।
निर्वाचन आयोगले आगामी मंसिरमा रिक्त स्थानमा उपनिर्वाचन गराउन सकिने बताएको छ । मंसिर अगावै उपचुनाव गराउन सकिने सम्भावना, अप्ठ्यारो र जटिलता पहिचान गर्न अध्ययन गरिने सरकारको तयारी रहेको छ। आयोगको परामर्शमा सरकारले उपनिर्वाचनको मिति घोषणा गर्छ। आयोगले इलाम-२ र बझाङ प्रदेश सभा (१) सँगै स्थानीय तहमा पनि एकै पटक चुनाव गराउन सकिने राय दिएको थियो। तर प्रतिनिधि र प्रदेश सभा सदस्यको रिक्त पदका लागि मात्र उपनिर्वाचन भइरहेको छ।
रिक्त रहने वडाहरूमा दार्चुलाको दुहुँ गाउँपालिका-५, बझाङको सुर्मा गाउँपालिका-४, डोटीको पूर्वीचौकी गाउँपालिका-६ र कञ्चनपुरको भीमदत्त नगरपालिका-६ रहेका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पालिकाहरूमा आगामी वर्षको मंसिरसम्म उपनिर्वाचन गरि सक्नु पर्ने आयोगको निष्कर्ष रहेको बताएका छन् ।
बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको मृत्यु भएपछि उक्त पद पनि रिक्त रहेको छ। जोशी २०७९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

दार्चुलाको दुहु गाउँपालिका-५ का वडाध्यक्ष मनोरथ भट्टको गत असारमा मृत्यु भएपछि सो पद रिक्त छ। त्यस्तै गत जेठमा बझाङको सुर्मा गाउँपालिका-४ का वडाअध्यक्ष सर्जन बोहराको मृत्यु भएको थियो। ३८ वर्षको उमेरमा उनको मृत्यु भएको हो। उनलाई मधुमेह र कलेजो लगायत सम्बन्धी समस्या थियो। बोहरा २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए। पालिकाभर एमालेबाट निर्वाचित हुने उनी एक मात्र वडाध्यक्ष हुन्। तर उक्त पद हाल रिक्त छ।
डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको पनि हृदयघातका कारण निधन भएपछि सो पद रिक्त छ। ६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढलेका थिए। उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको थियो। जोशी गत २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष महेन्द्र खड्काको पनि मृत्यु भएपछि सो पद रिक्त छ। वडाध्यक्ष खड्का भीमदत्त नगर कार्यपालिकाका प्रवक्ता समेत थिए।