स्वास्थ्य सचेतना बढाउन कैलालीको घोडाघोडी नगरपालिकामा स्वास्थ्य प्रदर्शनी गरिएको छ । पालिकाको वडा नम्बर १० मा रहेको कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालयमा बिहीबार प्रदर्शनी गरिएको हो ।
प्रदर्शनी कार्यक्रममा विभिन्न रोग सम्बन्धी स्वास्थ्य सचेतना सँगै परिवार नियोजन, खोप, लागूपदार्थ दुर्व्यसनी, मानसिक स्वास्थ्य, असल छुवाइ लगायतका विषयमा सहभागी बिद्यार्थीहरुलाई जानकारी दिइएको थियो । विद्यालय स्तरबाटै स्वास्थ्यका बारेमा जनचेतना जगाइ रोग लाग्न नदिने र विद्यार्थीलाई सकारात्मक सामाजिक व्यवहारमा अभिप्रेरित गर्ने उद्देश्यले स्वास्थ्य प्रदर्शनीको आयोजना गरिएको विद्यालय नर्स रोशनी खड्काले जानकारी दिइन ।“सबैभन्दा ठुलो कुरा स्वास्थ्य हो । आफ्नो स्वास्थ्य छ भने सबै छ । स्वास्थ्य नै छैन भने केही छैन । त्यसैले यस्ता कार्यक्रमहरूलाई अझै अगाडी बढाउन जरुरी छ। विद्यालय स्तरबाट यस्ता कार्यक्रमहरू सुचारु गर्यौ भने हामीले स्वास्थ्य क्षेत्रमा ठुलो फड्को मार्न सफल हुनेछौँ ।” उनले भनिन ।
कान्ति राज्यलक्ष्मीका प्रधानाध्यापक उमाकान्त मिश्रको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरप्रमुख खडकबहादुर रावत, स्वास्थ्य शाखाका वेदप्रकाश चौधरी, पहलमानपुर स्वस्थ चौकीका राम प्रसाद चौधरी, पहलमानपुर स्वास्थ्य केन्द्रका शिशिर न्यौपाने लगायतको सहभागी रहेको थियो ।
प्रकाशित :- २०८० पुष २०, गते शुक्रबार