कैलाली क्षेत्र नम्बर–३ मा ११ राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृत पुष्करराज प्रसाईका अनुसार यस निर्वाचन क्षेत्रमा कुनै पनि स्वतन्त्र उम्मेदवारी परेको छैन। सबै उम्मेदवारी राजनीतिक दलका तर्फबाट मात्रै दर्ता भएका हुन्।
निर्वाचन अधिकृत प्रसाईले दिएको जानकारीअनुसार नेपाली काँग्रेसबाट भिम बडुवाल, नेकपा एमालेबाट गौरीशंकर चौधरी, नेकपाबाट विरमान चौधरी, नेकपा माओवादी केन्द्रबाट अर्जुनप्रसाद कठरिया, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट जुनु महतरा शाही, राष्ट्रिय जनमोर्चाबाट देशराज चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विरेन्द्र बहादुर बम, प्रलोपाबाट लक्ष्मीराम चौधरी तथा मितेरी पार्टीबाट सुशीला थापा मगरले उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका जगतप्रसाद जोशी, नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरीले पनि उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन तालिकाअनुसार उम्मेदवारी दर्ताको प्रक्रिया सम्पन्न भइसकेको छ भने अब उम्मेदवारको अन्तिम नामावली प्रकाशन, चुनावी प्रचार–प्रसार र मतदानतर्फ प्रक्रिया अघि बढ्ने निर्वाचन कार्यालयले जनाएको छ।





