
कैलालीको बर्दगोरिया गाउँपालिकाले हरेक योजनामा आम नागरिकको सहभागिता, बजेटको प्रभावकारिता, पारदर्शिता तथा जबाफदेहीताका सवालमा सुशासनको नयाँ अभ्यास थालेको छ । पालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा विक्रम श्रेष्ठ आए सँगै गाउँ सरकारले विकास निर्माणका हरेक योजनाको भुक्तानी गर्नु पूर्व नागरिकका गुनासा सङ्कलन गर्ने नीति अघि सारेको छ ।


पालिका मार्फत विकास निर्माणको जिम्मा पाएका ठेकेदार वा उपभोक्ता समितिले योजना सम्पन्न गरी रकम भुक्तानीको लागी कार्यालयमा आएमा सो काममा देखिएका कमीकमजोरी औँल्याउन नागरिकका लागी ७ दिनको म्याद राखेर सूचना सार्वजनिक गर्ने गरिएको छ । यो अवधिमा सम्बन्धित योजना कार्यान्वयनमा नागरिकले देखेका कमजोरी तथा सुधार गर्नुपर्ने पक्षका बारेमा गाउँ सरकारलाई जानकारी दिन सक्दछन् । नागरिकका गुनासा आए त्यस उपर प्राविधिक टोली सहित पुनः अनुगमन गर्ने र कमजोरी फेला परे सुधार गर्न लगाएर मात्र योजनाको रकम भुक्तानी गर्ने गरेको गाउँपालिकाले जनाएको छ । योजना कार्यान्वयनको अन्तिम चरणमा सामाजिक परीक्षण गर्न समेत अनकनाउने विगतको परिप्रेक्ष्यमा यो अभ्यासले पारदर्शिता, दीर्घकालीन लक्ष्य तथा नागरिकको प्रत्यक्ष सहभागिताका कारण योजना प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

पालिकामा हुने हरेक विकास निर्माणको काममा जनताको निगरानी बढाई काम प्रभावकारी र दिगो बनाउन यस्तो अभ्यास थालिएको प्रमुख प्रशासकीय अधिकृत विक्रम श्रेष्ठको भनाई छ । “बजेट छुट्टाउने, कार्यान्वयन गर्ने, पालिकाले अनुगमन गर्ने र रकम भुक्तानी दिने विगतको अभ्यास थियो । यसो गर्दा जनताको चासो र निगरानी नहुने तथा योजनामा जनताका केही गुनासा भए पनि सरकारलाई भन्ने वातावरण नभएको अनुभूति ग¥यौँ । हामीले समय तोकेरै यो योजनाको रकम भुक्तानी हुँदै छ । तपाईँहरूका केही गुनासा छन् भने भन्नुस् है भन्दा त जनताले देखेका वा अनुभूति गरेका केही गुनासा भए लिखित रूपमै भन्न पाए नि त । यसो हुँदा एकातिर निर्माण गर्ने पक्ष सचेत हुने भएकाले योजना कमसल बन्न पाएन भने अर्कोतिर जनताको चासो पनि बढ्यो ।” उनले भने ।

गाउँपालिकाको नयाँ अभ्यास थालेकोमा हाल वडा नम्बर १ को ह्युमपाइप खरिद, वडा नम्बर ३ को वडा कार्यालयको भवन निर्माण, वडा नम्बर ३ को वडा कार्यालय सम्म विद्युत् लाइन विस्तार, वडा नम्बर ३ को कन्कना देवी मन्दिर निर्माण र वडा नम्बर ५ को डिप बोरिङमा खानेपानी ट्याङ्की निर्माण गरी ५ वटा योजनामा आम नागरिकका लागी दाबी विरोधको सूचना सार्वजनिक गरिएको छ । तर पनि हाल सम्म नागरिक स्तरबाट कुनै पनि योजनामा गुनासो नआएको कार्यालयले जनाएको छ । बर्दगोरियाले थालेको यो अभ्यास सुशासन, पारदर्शिता र जबाफदेहिताको महत्त्वपूर्ण औजारका रूपमा गाउँवासीले चर्चा गर्न थालेको छन् ।

