भोटेकोशी नदीको बहाव उच्च हुदा नेपाल–चीन जोड्ने सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ मा रहेको लार्चामा रहेको बेलीब्रिज नदीले बगाएको छ ।
आज बिहान भोटेकोशी नदीमाथि रहेको उक्त बेलिब्रिज बगाएपछि सीमा क्षेत्रको सडक सञ्जाल टुटेको छ । पुल बगाएसँगै नेपाल चीन बिचको व्यापारीक कारोबार अब पूर्णरुपमा बन्द हुने भएको छ ।
२०७४ साउनमा आएको पहिरोले लार्चामा रहेको पक्की पुल बगाएको थियो । पक्की पुल बगाएको नजिकै २०७४ वैशाखमा सडक विभागले बेलिब्रिज निर्माण गरेको थियो ।
पुल बगाएपछि भोटेकोशी गाउँपालिका १ र २ वडाको सडक सम्बन्धबाट बिच्छेद भएको छ भने दशैंका लागि चिनियाँ सामग्री बोकेर आएका कन्टेनरहरु समेत बाटोमा नै रोकिएका छन् ।
अब यो नाका हुँदै दशै लक्षित सामग्रीहरु नेपाल नभित्रने भएको छ । त्यस्तै भोटेकोशी गाउँपालिका १ र २ नजिकै रहेको लिपीङ पुलको पनि एक साइड नदीमा झरेको छ ।