नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु कैलालीको अधिवेशनको मिति फेरी तोकिएको छ । सोमबार घोडाघोडी नगरपालिकाको सुखडमा बसेको बैठकले असार ७ र ८ गते घोडाघोडी नगरपालिका स्थित सुखडमा अधिवेशन गर्ने मिति तोकेको हो ।
आयोजक कमिटी संयोजक कपिल सापकोटाको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सचिव तथा सुदूर पश्चिम इन्चार्ज दिपक धामी प्रमुख अतिथि रहेका थिए । यस क्षेत्रमा अधिवेशन हुँदा घोडाघोडी तालको विकास,प्रवर्द्धन र प्रचारप्रसारमा समेत टेवा पुग्ने आयोजक कमिटीले जनाएको छ ।
यस अघि अनेरास्ववियु कैलाली जिल्ला अधिवेशन वैशाख २८ र २९ गते तोकिएको भए पनि सम्पन्न हुन सकेको थिएन । अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने र जसका लागि करिब ५ सय प्रतिनिधि उपस्थित हुने बताइएको छ । हाल जिल्ला अध्यक्षको दौडमा सह–संयोजकहरू पुष्प राज सुवेदी, हरिस न्यौपाने र कुबेर खड्का रहेका छन् ।