
कैलालीको पर्यटकीय क्षेत्र राजकाँडा जाने सडक मर्मतको काम सुरु गरिएको छ । स्थानीयको आवागमनमा सहजता सँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मोहन्याल गाउँपालिकाले बुधवारबाट सडक मर्मत सुरु गरेको हो ।


सडकको स्तर उन्नति नहुँदा हरेक बर्खा याममा यो सडक अवरुद्ध हुने गरेको छ । स्थानीयका अनुसार यस अघि स्थानीय सामुदायिक वनहरूले यो सडकको मर्मत गर्दै आएका थिए तर यस पटक भने गाउँपालिका आफैले समयमै मर्मतको काम थालेको जनाइएको छ । बुधवारबाट पालिकाको डोजर सडक सफाइमा लागेको छ । “यो सडक करिब २०/२२ किलोमिटर छ कि जस्तो लाग्छ । अबको ४ दिनमा राजकाँडा पुगाउने गरि हामीले काम थालेका छौ । यस अघि पनि पालिकाले सडक सफाइ नगरेको होइन कहिलेकाहीँ सामुदायिक वनहरू आफैले हामी भन्दा अघि सफाइ गर्ने पनि गरेका थिए ।” पालिका अध्यक्ष देविदत्ता उपाध्यायले भने ।
राजकाँडा सडकमा हिउँदमा सामान्य गाडी सञ्चालन गर्न सकिने भए पनि बर्खा याममा भने पैदल मार्ग प्रयोग गर्नु पर्ने बाध्यता छ । सडक नहुँदा पर्यटकको आवागमनमा असर त परेको छ नै यहाँका उत्पादनले समेत बजार पाउन सकेका छैनन् ।




