कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा बालबालिकाको आवाज सशक्त बनाउने र बाल समृद्धिका मुद्दा उजागर गर्ने उद्देश्यले सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। विकासका लागि युवा एक्यबद्धता (यार्ड), धनगढी र World Vision International Nepal को साझेदारीमा सञ्चालित ‘बाल समृद्धि तथा एकीकृत विकासका लागि हातेमालो’ परियोजनाअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा बालबालिकाका आवाज बुलन्द बनाउने, उनीहरूका मुद्दामा पैरवी गर्ने तथा बाल अधिकारसम्बन्धी विषयलाई सञ्चार माध्यममार्फत प्राथमिकताका साथ उठान गर्ने विषयमा पत्रकारहरूसँग छलफल गरिएको थियो। टीकापुर, भजनी, घोडाघोडी र गौरीगंगा नगरपालिका तथा कैलारी गाउँपालिकाका केही वडामा काम गर्दै आएको यार्डले बालबालिकाको क्षमता विकासमा सरोकारवालाको भूमिकाबारे पनि जानकारी दिएको छ।
यार्डका कार्यक्रम संयोजक पिताम्बर पौडेलका अनुसार परियोजनाले पाँच स्थानीय तहका २४ वडामा बाल अधिकारका क्षेत्रमा काम गरिरहेको छ। सन् २०२६ देखि २०३० सम्मको रणनीतिक योजना तयार पार्दै बालबालिकामाथि हुने हिंसा न्यूनीकरण, शिक्षामा पहुँच विस्तार तथा कुपोषण न्यूनीकरणका लागि चरणबद्ध कार्यक्रम सञ्चालन भइरहेको उनले बताए।
उनका अनुसार घोडाघोडी, गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकामा सन् २०२६ देखि परियोजना सुरु गरिएको हो। सकारात्मक अभिभावकत्व शिक्षा, आत्मरक्षा तालिम तथा बाल सहभागिता अभिवृद्धि कार्यक्रममार्फत बालबालिकालाई सुरक्षित बनाउने प्रयास भइरहेको छ। बाबुआमा साथमा नहुने बालबालिका बढी जोखिममा पर्ने र विद्यालय छाड्ने दर अझै चुनौतीपूर्ण रहेको उनले बताए।
परियोजनाअन्तर्गत १५ विद्यालयका ३,२५० बालबालिकालाई शैक्षिक सामग्री तथा स्वास्थ्य सेवा प्रदान गरिएको, ३,००० अभिभावकलाई अभिभावकत्व शिक्षा दिइएको, १५ बाल क्लबमार्फत २,८०० भन्दा बढी बालबालिकालाई सेवा दिइएको तथा ४५ शिक्षकलाई एकीकृत पाठ्यक्रमसम्बन्धी तालिम प्रदान गरिएको जानकारी दिइयो। तालिमप्राप्त शिक्षकहरूले ह्वाट्सएप समूहमार्फत अनुभव आदानप्रदान गर्दै शिक्षण गरिरहेका छन्।
समुदाय र सरकारी निकायको सुझावका आधारमा बालहिंसा, कुपोषण तथा सिकाइमा देखिएका कमजोरी न्यूनीकरणका लागि विभिन्न साझेदार संस्थासँग सहकार्य भइरहेको बताइएको छ। कार्यक्रममा सहभागी शिक्षक, अभिभावक, बालबालिका तथा पत्रकारहरूले अभिभावकको निगरानी अभावमा बालबालिकाको व्यवहारमा समस्या देखिने गरेको बताएका छन्।
प्रविधिको बढ्दो प्रयोग र सामाजिक परिवेशका कारण बालबालिका थप जोखिममा पर्ने भएकाले असल अभिभावकत्व आवश्यक रहेको उनीहरूको धारणा थियो। बालमैत्री समाज निर्माणका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा सहभागीहरूले जोड दिएका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका सचिव इन्दु केसी, घोडाघोडी सञ्चारकर्मी समूहका अध्यक्ष खेम ढुंगाना, उपाध्यक्ष दसीराम चौधरी, सचिव वीरेन्द्र शाहलगायतको उपस्थिति रहेको थियो।




