घोडाघोडी नगरपालिकामा वित्तीय कारोबारमा संलग्न सहकारी संस्थाहरूका लागि ‘पल्स’ प्रणालीसम्बन्धी तालिम सुरु गरिएको छ। सहकारीको वित्तीय कारोबारलाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यसहित तालिम सञ्चालन गरिएको हो।
दुई दिने तालिममा नगर क्षेत्रभित्र क्रियाशील वित्तीय सहकारी संस्थाहरूका प्रतिनिधि, व्यवस्थापक र प्राविधिक कर्मचारीहरू सहभागी छन्। तालिममा सहभागीहरूलाई ‘पल्स’ सफ्टवेयरको प्रयोग, लेखा व्यवस्थापन, कर्जा तथा बचत अभिलेख प्रणाली, विवरण प्रतिवेदन तयार गर्ने तरिका लगायतका विषयमा व्यवहारिक ज्ञान दिइँदै छ।
सहकारी संस्थाहरू आर्थिक रूपले सबल बनाउन प्रविधिको उपयोग अनिवार्य भएको उल्लेख गर्दै पल्स प्रणालीले सहकारीहरूको सेवा, पारदर्शिता र विश्वसनीयता बढाउने उद्देश्यले तालिमको आयोजना गरिएको नगरपालिकाका सहकारी शाखा प्रमुख हेमाकान्त सुवेदीले बताए ।
‘पल्स’ एक एकीकृत सहकारी सफ्टवेयर हो जसले सदस्य व्यवस्थापन, बचत, ऋण, शेयर, लेखा परीक्षण, रिपोर्टिङ लगायत सम्पूर्ण सहकारी प्रशासनलाई डिजिटाइज गर्न सहयोग गर्छ। तालिम प्रशिक्षित जनशक्तिको विकासमार्फत सहकारीमा डिजिटल कारोबार प्रणालीको स्थापनामा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको हो सुवेदीले भने।
तालिममा सहभागीहरूले प्रविधिको प्रयोगमार्फत सहकारीलाई अझ प्रभावकारी र उत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । तालिम घोडाघोडी नगरपालिकाको आयोजना तथा सरल मिडियाको समन्वयमा गरिएको हो।


