कैलाली निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य जगत प्रसाद जोशीले विकास निर्माण, प्रशासनिक काम र सार्वजनिक सेवा प्रवाहमा देखिएका कानुनी जटिलताका कारण सरकारले अध्यादेश ल्याउनुपर्ने अवस्था आएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद जोशीले जनताले छिटो नतिजा खोजिरहेको उल्लेख गरेका छन्। तर प्रक्रियागत रूपमा काम अघि बढाउँदा धेरै समय लाग्ने अवस्था रहेको उनले बताएका छन्।
उनले सडक विस्तारका क्रममा बाटोको बीचमा रहेका रुख काट्न कानुनी समस्या, विद्युत् प्रसारण लाइन निर्माणमा वन ऐनको अवरोध, अदालतमा न्यायाधीश अभावका कारण ढिलो निर्णय, तथा पालिकामा कार्यकारी प्रमुख नहुँदा काम प्रभावित भइरहेको उदाहरण दिएका छन्।
“पाँच वर्षे कार्यकालभित्र ३५ वर्षको बेथितिलाई थितिमा बदल्नुछ,” उनले लेखेका छन्, “यसका लागि केही अध्यादेश ल्याउन जरुरी छ।”

सांसद जोशीले अध्यादेश कसैको पार्टी फुटाउन वा कसैलाई सिध्याउने उद्देश्यले ल्याउन नखोजिएको स्पष्ट पारेका छन्। नियत सही भए अध्यादेशको अनावश्यक विरोध गर्न नहुने उनको भनाइ छ।
उनले गलत भए संसदले अनुमोदन नगर्न सक्ने व्यवस्था रहेको उल्लेख गर्दै आजको बैठकको निष्कर्ष पनि यही रहेको बताएका छन्।







