
कैलाली घोडाघोडी नगरपालिका–१ सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा तेस्रो दिन आज तीन खेल सम्पन्न भएका छन् । बिहान भएको पहिलो खेल मङ्गल युवा क्लब गौरीगंगा र युवा मिलन क्लब भजनी बिच भएको थियो । जसमा मङ्गल युवा क्लब ३ गोल प्रहार गर्दे विजय भयो । निर्धारित समयमा युवा मिलन क्लब भजनी गोल प्रहार गर्न सकेन । खेलको म्यान अफ द म्याच मङ्गल युवा क्लब गौरीगङ्गाका खेलाडी उमेश साउँद भए ।

त्यसै गरी दिउँसो भएको दोस्रो खेल भजनी युवा क्लब र मिलन चोक युवा क्लब टिकापुर बिच भएको थियो । जसमा भजनी युवा क्लबले ५ गोल प्रहार गर्दे मिलन चोक युवा क्लब टिकापुर हराएको थियो । निर्धारित खेल समयमा मिलन चोक युवा क्लब टिकापुर १ गोल फर्काउन सफल भएको थियो । उक्त खेलको म्यान अफ द म्याच भजनी युवा क्लबका प्रेम साउँद घोषित भए ।
आजै भएको दिउँसो तेस्रो खेलमा धनगढी युवा क्लब र न्यु ब्वाईज युवा क्लब खेल भएको थियो । निर्धारित खेल समयमा दुई टिमले गोल गर्न नसक्दा अङ्क बाडेका छन् । उक्त खेलको म्यान अफ द म्याच धनगढी युवा क्लबका वासुदेव चौधरी घोषित भएका थिए ।
वैशाख २८ गते देखी सुरु भएको जिल्ला लिग ज्येष्ठ १२ गते सम्म सञ्चालन हुने छ । कैलाली जिल्ला लिग फुटबल सङ्घको आयोजना र घोडाघोडी क्लबको स्थानीय आयोजनामा हुने प्रतियोगिता सुखड रङ्गशालामा सञ्चालन भइरहेको छ । प्रतियोगितामा जिल्लाका ए डिभिजनका ७, बी डिभिजनका ६ र क्वालिफायर्सका ७ टिम गरी २० टिमको सहभागी रहेको छ ।
ए डिभिजन लिनको विजेता क्लबले ७५ हजार र दोस्रो हुने क्लबले ३७ हजार ५ सय पुरस्कार पाउने छन् । त्यस्तै बी डिभिजनको प्रथम हुने टिमले ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार पुरस्कार पाउने छन् ।
